Swornakshar Logo

रक्सी बनाउन प्याडदेखि जुत्ताचप्पल र पिसाबको पनि प्रयोग

जेठ २ । दाङ । दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाहरुले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबसमेत प्रयोग गरिएको भेटिएको छ ।

स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास समितिका अगुवा, महिला र प्रहरीको संयुक्त सहभागितामा घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा थालिएको घरेलु रक्सी हटाउने अभियानमा यस्तो भेटिएको हो ।

रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता बस्तु भेटिएको अभियानमा सहभागी प्रहरी चौकी गोग्लीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बिष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

यो अभियान थाल्ने बेलामा हामीले कल्पनै नगरेका बस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो’, प्रहरी सहायक निरीक्षक बुढाथोकिले भन्नुभयो, भन्न पनि लाज लाग्छ हेर्नुस् प्रयोग गरिएको प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउदा प्रयोग गरेको भेट्टायौँ ।’

स्थानीय स्तरमा उत्पादन हुने रक्सीमा विषाक्त पदार्थहरुको प्रयोग गरेको पाइएको छ । विभिन्न अन्नसहित पिसाव, प्याड, जुत्ता, चप्पल र मोजाजस्ता बस्तुहरुको रक्सी उत्पादनमा प्रयोग भएको प्रहरी सहायक निरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

टोलीले अहिलेसम्म झण्डै ५ हजार लिटर अवैध रक्सी जफत गरेर नष्ट गरेको वडा अध्यक्ष सार्कीले जानकारी दिनुभएको छ । वडाका वसन्तपुर, बाह्रहाङे, उपल्लो भकारे, तल्लो भकारे, ढुंगेडाँडा, फल्ले डाँडा, माझ गाउँ, सुनपुर, राजधानी टोल, पारखेत, शान्तिनगरलगायत टोलका गाउँमा अवैध रुपमा उत्पादन गर्दै आएको रक्सी नष्ट गरिएको छ ।