Swornakshar Logo

लागुऔषध सहित बागलुङमा एक युवा पक्राउ

बैशाख २६। जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले बागलुङ नगरपालिका–१ रामरेखाबाट लागु औषध सहित ३३ वर्षिय सन्तोष बस्नेत भनिने एडिसन बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले बस्नेतको साथबाट लागुऔषध फेनारगन २४ एम्पुल, डाईजापाम २८ एम्पुल, नुरफिन २६ एम्पुल गरी एकमुष्ट ७८ एम्पुल लागुऔषध फेला पारेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका बस्नेत माथि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । लागु औषध रोकथाम तथा नियन्त्रण अभियान संचालन गरेको प्रहरीले यस अघि लागु औषध सेवन गर्ने र समाजवमा विकृति फैलाउन १६ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्ने मध्ये ५ जनालाई सुधार गृह पठाइएको छ भने ७ जनालाई शान्ति सुरक्षा विरुद्ध कसुरमा मुद्दा चलाइएको र ४ जनालाई सम्झाई बुझाई घर पठाइएको डिएसपी भट्टराईले बताउनुभयो ।