Bagmati Samachar Logo

खोलाको पानी पिउन बाध्यः पुरै गाँउ बिरामी, ९८ जनालाई झाडापखाला

बैशाख १३ । गुल्मी । गुल्मीमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ जना बिरामी परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा गाँउलेहरु अचानक बिरामी परेका हुन् ।

मंगलबार सो ठाँउका मानिसहरु एक अर्को गरी बिरामी हुन थालेका थिए । सोही बिच बिहीबार जिल्ला जनस्वास्थ्यको टोलीले शिविर सञ्चालन गरी बिरामीहरुको उपचार थालेको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत महेश श्रेष्ठका अनुसार दूषित पानी सेवन गरेका कारण अधिकांश मानिसमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको छ । बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको सोही शिविरमा उपचार भइरहेको छ ।

जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले स्थिति सामान्य बन्दै गएको भन्दै बिरामी थप उपचार गरेर सदरमुकाम तम्घास फर्किएको बताएका छन् ।

गाँउमा सफा पानी नहुँदा बासिन्दाहरुले खोलाको दुषित पानी पिउँन बाध्य भएका थिए । फोहर पानी पिएका कारण गाँउमा झाडापखाला फैलिएको बताइएको छ । गाँउलाई सफा खाने पानीसमेत नहुँदा झाडापखालाको महामारी फैलिएको हो ।