Swornakshar Logo

सञ्जीवनी मावि बन्यो भूकम्प प्रतिरोधी र सुविधासम्पन्न विद्यालय, प्रधानमन्त्रीले गरे उद्घाटन

११ वैशाख । काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलमा भूकम्प प्रतिरोधी र सुविधानसम्पन्न सञ्जीवनी माध्यमिक विद्यालयका तीनवटा भवनको उद्घाटन गरेका छन् ।

२०७२ मा आएको भूकम्पका कारण क्षति पुगेको विद्यालय भवन पुनर्निर्माण भएसँगै प्रधानमन्त्री ओलीले बुधबार उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण गरिएका भवनको अवलोकन समेत गरेका थिए। एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाबाट भवन पुनर्निर्माण गरिएको हो ।

९ करोड ९८ लाख रुपैयाँमा बनेका भवनहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणले गति लिएको भन्दै भूकम्पबाट क्षति भएका बाँकी संरचनाको पनि पुनर्निर्माण गर्ने काम चाँडै सकिने बताए ।

त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुनर्निर्माणपछि विद्यालयको भौतिक संरचना राम्रो भएको भन्दै शिक्षाको गुणस्तर वृद्धिमा पनि विशेष ध्यान दिनु पर्ने बताए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न विद्यालय पुनर्निर्माण भएसँगै ‘अझ राम्रो र बलियो’ भन्ने नारा साकार हुँदै गएको बताए।