Swornakshar Logo

यातायातमा छुट नदिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी मकवानपुरको घोषँणा

यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको आन्दोलन गरिरहेको संयुक्त विद्यार्थी, मकवानपुरले अब कडा तथा अन्तिम आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

न्युज क्लब नेपालमा आज पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले आन्दोलनको कार्यक्रम पनि घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै अभियानका अभियान्ता रामकृष्ण सिवाकोटीले यातायात ब्यवसायी, विद्यार्थी तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख आस्मान तामाङसँग भएको सहमतिलाई टेम्पु तथा मझौला सहितका अन्य यातायात संस्थाहरुले कार्यन्वयन नगरेकोले आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्नु परेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अर्का अभियान्ता विशाल पौडेलले राज्यले दिएको अधिकार माग्दा समेत यातायात ब्यवसायीहरुले विद्यार्थीलाई अपशब्द प्रयोग गर्ने, विद्यार्थी आउने र जाने समयमा सवारी नचलाउने तथा धम्की दिनेसम्मको काम गरेको भन्दै यसको विरुद्धमा आफुहरुले निर्णायक आन्दोलनको तयारी गरेको बताए ।कार्यक्रममा बोल्दै अर्का अभियान्ता पुजन न्यौपानेले विद्यार्थीको यो आन्दोलनलाई साथ दिनको लागि सबैमा आग्रह गर्दै आन्दोलनलाई सफल बनाएरै छाडने प्रतिवद्धता ब्यक्त गरे ।

विद्यार्थीहरुले आजको मितिबाट २४ घण्टा भित्र विद्यार्थीको अधिकार बमोजिम छुट नदिए सिठ्ठी आन्दोलन, सडक नाटक, यातायात ब्यवसायी संघको कार्यालय घेराउ तथा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । चैत्र १ गतेबाट छुटलाई कार्यन्वयन गर्ने भनेर सहमति भएपनि उक्त सहमतिको कार्यन्वयन नभएको भन्दै उनीहरुले अन्तिम आन्दोलनको तयारी गरेको बताए ।