Swornakshar Logo

सरकारीमा बहिष्कार चिकित्सक निजीमा जाँच्दै छन् बिरामी

२६ चैत । काठमडौ । स्वास्थ्य मन्त्रालयले कारबाही चेतावनी दिदापनि त्यसको बेवास्ता गर्दै सरकारी चिकित्सक संघ आन्दोलनमा उत्रेको छ । आन्दोलनका कारण अस्पताल पुग्ने बिरामी भने चर्को मारमा परेका छन् ।
उपचारका लागि सरकारी अस्पताल पुगेका बिरामी चिकित्सकको बेवास्ताका कारण अलपत्र परेका छन् ।

वीर अस्पतालमा घाँटीको उपचार गर्न पुगेका कोटेश्वरका सुमन कटवालले तीनघण्टा भौँतारिदा पनि उपचार नपाएपछि नजिकैको क्लिनिकमा चाँज गराएर घर फर्किएको बताए ।

विभिन्न माग राख्दै सामूहिक राजीनामा बुझाएर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले निजी क्लिनिकमा भने बिरामी चाँज गरिरहेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् ।

सरकारी चिकित्सकको बेवास्तापछि निजी क्लिनिकमा उपचारका लागि पुग्दा सरकारी चिकित्सकको नेम प्लेट र उपचारमा आउने समय उल्लेख गरेको देखेको कोटेश्वरका कटवालले बताए । उनले यस्ता चिकित्सकलाई तत्काल कारबाही गर्न मागसमेत गरे ।

सरकारी चिकित्सक संघले विज्ञप्ति नै जारी गरेर आजबाट कुनै पनि स्वास्थ्य संस्थाबाट मेडिको लिगल सेवा नदिने र बैठक, तालिम तथा गोष्ठीहरूमा समेत भाग नलिने घोषणा गरेको छ ।

तर, अत्यावश्यक सेवा कार्यविधिमा संशोधन गरेर हडताल गर्न निशेष गर्ने सरकार भने रमिते बनेर बसेको छ । संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डे र महासचिव डा। रविन खड्काद्वारा जारी विज्ञप्तिमा सामूहिक राजीनामा दिन बाँकी चिकित्सकले तत्काल राजीनामा संघको कार्यालयमा पठाउनसमेत भनिएको छ ।

तर, सरकारलाई भने उनीहरूले बुझाएका छैनन् । समायोजनप्रति विमति राख्दै आन्दोलनमा उत्रिएका चिकित्सकले अमानवीय व्यवहार देखाउँदै उपचार छोडेको भन्दै स्वास्थ्य मन्त्रालयले कारबाहीको तयारी गरिरहेको बताए पनि कुनै ठोस कदम भने चालिसकेको छैन ।

समायोजनमा आफूहरूलाई संघअन्तर्गत राखिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले शुक्रबारबाट देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका छन् । उनीहरूले समायोजनमा गरिएको त्रुटि नसच्याए सामूहिक राजीनामा दिने चेतावनी बारम्बार दिँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंद्वारा जारी विज्ञप्तिमा आन्दोलन जारी राखे अत्यावश्यक सेवा सञ्चालन ऐन तथा अन्य प्रचलित ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने उल्लेख छ । तर, यस्तो कारबाही कहिलेबाट र कसरी सुरु गर्ने भन्ने विषयमा भने मन्त्रालयकै अधिकारीहरू अनविज्ञ छन् ।