Swornakshar Logo

कोर्ष चाँडै सकेको र सिकाईमा झारा टारेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको माला लगाईदिएका हुन् ।

३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २ र २ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओझा माथि कालोमोसो दल्नु परेकोे बताए ।

बिगत वर्ष देखि ओझाले बिद्यार्थीको भविष्यमाथि खेलवाड गरि यसरी नै कक्षा चलाउदै आएको र विरोध गर्ने कोहि निस्के उसको प्राक्टिकल नम्वरनै कम दिएर दुःख दिने गरेको बिद्यार्थीको आरोप छ ।

यस पटक पनि उनको शिक्षण सिकाई क्रियाकलापको बिरोध गरेका चौथो सत्रान्तको ४ जना बिद्यार्थीको नम्वर निकै कम दिएपछि बिद्यार्थीहरु थप आन्दोलित बनेको र प्रशासनलाई ओेझाको प्रवृतिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि बिद्यार्थी आफैले कारवाही गर्नु परेको बिश्वबिद्यालय बिद्यार्थी नेता बामदेव रेग्मीले बताउनु भयो । यस विषयमा प्राध्यापक ओझासँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन ।