Swornakshar Logo

हेटौंडा अस्पतालबाट सुरु भयो मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम

तत्काल परिक्षणका रुपमा सुरु गरिएको यो कार्यक्रमबाट पाँच वटा स्थानिय तहका दश हजार नागरिक लाभान्वीत हुने छन् ।

१७ चैत । हेटौडा । ३ नम्बर प्रदेश सरकारले आजबाट हेटौंडा जिल्ला अस्पतालबाट मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ ।
बिपन्न नागरिकलाई सजिलैसंग स्वास्थ्य सेवा दिने उद्देश्यले हेटौडा जिल्ला अस्पतालबाट ३ नंम्बर प्रदेश सरकारले सेवा दिन सुरु गरेको हो । आज हेटौंडा अस्पतालमा आएका बिरामीको स्वास्थ्य परिक्षण गरेर यो कार्यक्रमको सुरुवात गरिएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षणको कार्यक्रम हेटौंडा १ लालझाडीका रामप्रसाद तिमल्सिनाको स्वास्थ्य परिण सुरु गरेर सुरु भएको छ । अस्पतालको पहिले ओपिडी राखिएको भवनबाट कार्यक्रमको सुरुवात गरिएको छ । बिशेषगरी विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, शहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन कार्यक्रम सुरु गर्ने गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

यस प्रदेशको सामाजिक बिकाश मन्त्रालयले मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरुवात गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरमा रहेको हेटौंडा अस्पतालमा मुख्यमन्त्री पौडेलले कार्यक्रमको आज आइतबार उद्घाटन गरेका छन् ।
अहिले अस्पतलाका सरकारी डाक्टरलेनै यसमा सेवा दिनेछन् । हेटौंडा सहित भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ जिल्लाका १ र १ वटा स्थानीय तहका लक्षित समूहलाई निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

आर्थिक अभावकै कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिन नसक्ने समूहलाई लक्षित गरी प्रदेश सरकारले विभिन्न नसर्ने रोगको पहिचान गर्ने गरी कार्यक्रम ल्याएको हो । प्रदेश सरकारले ५ वटा स्थानीय तहका २ र २ हजार व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरी स्थानीय तहमा रहेका अस्पतालहरूलाई बजेटसमेत निकासा गरिसकेको छ । अस्पताललाई प्रतिव्यक्ति २ हजार २ सयका दरले स्वास्थ्य परीक्षण शुल्क उपलब्ध गराइएको छ । नागरिकले आफ्नो स्वास्थ्यको अवस्था कस्तो छ भन्ने थाहा पाउन यो कार्यक्रम सञ्चालन गरेको सामाजिक विकास मन्त्रालयका अधिकारीको भनाइ छ । स्वास्थ्य अवस्था पहिचान भएपछि आवश्यकता अनुसार उपचार भने नागरिकले आफ्नै खर्चमा गर्नुपर्नेछ ।

चालु आर्थिक वर्षका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरी नमुना कार्यक्रमको रूपमा सुरुवात गर्न लागिएको हो ।
संघीय सरकारले नसर्ने रोगबाट प्रभावितहरूका लागि स्वास्थ्य उपचारमा सहुलियत समेत प्रदान गरिरहेको सन्दर्भमा प्रदेश सरकारले निश्चित समूहलाई स्वास्थ्य समस्या पहिचान गर्न सहयोग गर्दै आवश्यकता अनुसार संघीय सरकारको कार्यक्रमबाट समेत लाभ लिन परामर्श सेवा प्रदान गर्न सकिने सामाजिक बिकाश मन्त्री दुलालले बताए ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा ३० वर्ष पूरा भएका नागरिक हुनुपर्नेछ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनसम्बन्धी कार्यबिधि २०७५ को अनुसूचीअनुसार वडा अध्यक्षहरूबाट सिफारिस लिनुपर्नेछ । हेटौंडा जिल्ला अस्पताल, धादिङको धादिङ जिल्ला अस्पताल, भक्तपुरको भक्तपुर जिल्ला अस्पताल, सिन्धुपाल्चोकको सिन्धुपाल्चोक जिल्ला अस्पताल र सिन्धुलीको सिन्धुली जिल्लाअस्पतालमा स्वास्थ्य परीक्षण गरिनेछ ।