Swornakshar Logo

प्रदेश २ को एसईई परीक्षा स्थगित (प्रेस नोटसहित)

१५ चैत । काठमाडौं । प्रदेश २ को एसईई परीक्षा स्थगित भएको छ । बिज्ञान र सामाजिक बिषयको प्रश्नपत्र आउट भएपछि सरकारले आज बाँकी रहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले आज पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिए । मन्त्री पोखरेलकाअनुसार स्थगित भएको परीक्षा यसै महिना हुनेगरी राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा अर्को तालिका सार्वजनिक गरिनेछ ।

एसईई परीक्षाको प्रदेश २ मा सामाजिक र बिज्ञान बिषयको प्रश्नपत्र आउट भएको थियो । त्यस बिषयमा सरकारले छानविन गरेर दोषीलाई कारवाही गर्ने समेत मन्त्रीले प्रतिवद्धता जनाए ।

परीक्षा अगावै प्रश्नपत्र बहिरिएपछि दुबै बिषयको परीक्षा स्थगित भएको थियो । यसपछिपनि प्रश्नपत्र आउट भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलिएको र प्रदेश २ सरकारका शिक्षा मन्त्रीले समेत स्थगन गरी व्यवस्थित रुपमा पुनः परीक्षा गर्न आग्रह गरेपछि स्थगन गरिएको मन्त्री पोखरेलले बताए ।

प्रश्नपत्र कसरी आउट भयो भन्नेवारे राष्ट्रिय परीक्षा वोर्डले छानविन थालेको छ । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय अनुसन्धान व्युरोले पनि अनुसन्धान थालेको मन्त्रीले बताए ।

आजै परीक्षा सुरक्षा समितिको बैठक बसी छानविन गर्ने निर्णय गर्दै बाँकी प्रश्नको सुरक्षामा कडाइ गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए । प्लस टु को परीक्षा सुरक्षामा समेत कडाइ गरिएको उनले बताए ।