Swornakshar Logo

आजबाट एसईईः ४ लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदै

१० चैत । काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । एसइईमा देशभरबाट पौने पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् ।

त्यसमध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्ज्याम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी छन् ।

एसईईमा सहभागी हुनेमा छात्राको संख्या बढी छ । २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिँदै छन् । सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी छन् ।

यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा बढी प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी हुँदै छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् ।

त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिँदै छन् । यस वर्ष एक्ज्याम्टेडतर्फ ९ हजार पाँच सय ९१, प्राविधिकतर्फ ९ हजार तीन सय ४३ र पुरानो एक्ज्याम्टेडतर्फ ५ हजार ८ सय ८३ सहभागी हुँदै छन् ।