Swornakshar Logo

काभ्रेमा भएको प्रहरी अप्रेसनमा विप्लवका नेता हेमन्तप्रकाश ओली भाग्नन सफल

६ चैत । काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
मंगलबार साँझ काभ्रेको रोशी गाउपालिकाको काफलडाँडामा प्रहरीले गरेको सर्च अप्रेशनमा विप्लव समुहका तेस्रो बरियताका नेता हेमन्तप्रकाश ओली भाग्न सफल भएका छन् । प्रहरी टोली ओलीलाई नै समात्न काठमाडौबाट काभ्रे गएको बुझिएको छ ।
काफलडाँडा अप्रेशनबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ६ थान मोवाईल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज बरामद गरेको छ ।
अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएको थियो ।
महाशाखाले पहिले विप्लवका कार्यकर्ताले फायर गरेको दाबी गर्दै प्रहरीका तर्फबाट जवाफी फायर गरिएको बताएको छ । तर, विप्लव समूहको तर्फबाट गोली चलेको पुष्टि हुन सकेको छैन ।
अपराध महाशाखाको टोली मंगलबार बिहान काठमाडौंमा समातिएका भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई साथै लिएर काभ्रे पुगेको थियो ।

पक्राउ परेका विप्लवका कार्यकर्ताले आफन्तहरुसँगको भेटमा प्रहरीले आफूहरुलाई पक्राउ गरेपछि अमानवीय ढंगले कुटपिट गरेको तर आफ्नो तर्फबाट गोली नचलेको बताएका छन् । काभ्रेका विप्लव समूहका एक नेताले रातोपाटीसँग कुरा गर्दै भने, ‘हाम्रो तर्फबाट फायर भएको भन्ने कुरा सरासर झुटो हो, बरु हाम्रा साथीहरुलाई अमानविय ढंगले कुटपिट गरिएको छ ।’

अपराध महाशाखाका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले एक विज्ञप्ती जारी गरेर पक्राउ परेकाहरु नख्खुस्थित एनसेल र बसुन्धारास्थित रोहन गुरुङको घरमा बम विष्फोट गराउने समूह भएको जानकारी दिएका छन् ।

विप्लव समूहका कार्यकर्ताले फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धारास्थित रोहन गुरुङको घरमा शक्तिशाली बम विष्फोट गराएका थिए ।

नजिकै थिए हेमन्त ओली
विप्लव समुहको मध्यकमाण्ड इन्चार्ज समेत रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ मंगलबार साँझ आफ्ना कार्यकर्ता पक्राउ परेको स्थान नजिकै थिए । काफलडाँडाबाट एक किलोमिटरको दुरीमा रहेका हेमन्त ओली भाग्न सफल भएको बताईएको छ ।

विप्लवका कार्यकर्ताले मध्यकमाण्ड इन्चार्ज ओलीको मोबाइल प्रहरीले बरामद गरेको दाबी गरेका छन्, तर प्रहरीले ओलीको मोवाइल बरामद गरेको कुरा आधिकारीक रुपमा पुष्टि गरेको छैन ।

मंगलबार शिव धिमाल र विशाल तामाङ पक्राउ गरेसँगै विप्लव समुहको मध्ये कमाण्डमा ठूलै धक्का लागेको छ । यसअघि प्रहरीले बम विष्फोट गरेको आशंकामा केदार खतिवडा, सूर्य भुजेल, किसान महासंघका संयोजक राजु कार्की र पोलिटब्यूरो सदस्य मोहन कार्कीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

पछिल्लो समय पक्राउ परेका पोलिटब्यूरो सदस्य कार्कीसहितको समूह मध्येकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’को कोर टीमका सदस्यहरु हुन् ।