प्रदेश ३ को प्रदेशस्तरीय प्रहरी स्कुल चितवनमा राखिने

३ चैत्र । हेटौडा । प्रदेश नं ३ स्तरीय नेपाल प्रहरी स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालन हुने भएको छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो ।
विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र महानगरपालिकाबीच सम्झौता भई सकेको स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।
शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो । शिशु कक्षादेखि ५ कक्षासम्म सञ्चालनमा रहने विद्यालयमा विद्यार्थी संख्या कम भएर गाभ्न लागिएको थियो । स्कुल सञ्चालन गर्न लागेको विद्यालयमा ५९ जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई पुलिस स्कुलले कक्षा ५ सम्म निःशुल्क पढाउने भएको छ ।
स्कुलमा यसै साताबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न लागिएको अधिकारीले जानकारी दिए । प्रदेशस्तरीय पुलिस स्कुलमा हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ । हरेक वर्ष कक्षा थप गर्दै कक्षा १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले जानकारी दिए ।
प्रदेश नम्बर ३ को चितवन र प्रदेश नम्बर ६ को सुर्खेतमा प्रहरी स्कुल नयाँ सञ्चालन गर्ने योजनाअनुसार चितवनमा यस शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइएको हो । यसअघि मध्यमाञ्चल विकास क्षेत्रको रौतहटमा सञ्चालन गरिएको थियो । सो ठाउँ हाल प्रदेश नम्बर २ मा परेपछि प्रदेश नम्बर ३ को चितवनमा स्कुल खोलिएको हो । स्कुलमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ ।
प्रतिक्रिया दिनुहोस्: