Swornakshar Logo

युवा दुर्व्यसनमा फसेर जघन्य अपराध बढ्योःआईजीपी खनाल

१ चैत । धरान । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उर्जाशील युवाशक्ति दुर्व्यसनमा फसेर जीवन बर्बाद पारेको बताएका छन् । उनले दुर्व्यसनकै कारण समाजमा जघन्य अपराध पनि बढेको बताउँदै यसको रोकथाम र नियन्त्रणको प्रभावकारी कार्यान्वय जरुरी रहेको बताए । धरान ६, पानबारीमा आसरा सुधार केन्द्रको नवनिर्मित शाखाको शुक्रबार उद्घाटन गर्दै आईजीपी खनालले अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रणका लागि ठोस कार्य हुनुपर्ने औंल्याएका हुन् । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रमको उत्कृष्ट नमुनाको रुपमा सुधार केन्द्र स्थापना भएको छ’, खनालले भने, ‘प्रहरी र स्थानीय समुदायमा मिलेमा अपराध न्यूनिकरण र लागूऔषध नियन्त्रण गर्न उपब्धी हाँसिल हुन्छ ।’ उनले किशोरकिशोरीलाई अभिभावकले यथेष्ठ समय दिने, समाजमा युवामैत्री वातावरण सिर्जना गर्दै उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउनु पर्ने खनालले बताए । टोलटोलमा रोजगारी तथा उनीहरुका रुचि अनुसारका रचनात्मक कार्यक्रमहरु समाज र राज्यले उपलब्ध गराउनुपर्ने चर्चा गर्दै खनालले भने, ‘त्यस्ता कार्यक्रमको सञ्चालन समेत युवालाई दिने हो भने कि त उनीहरु रोजगार कि त रचनात्मक कार्यमा व्यस्त भइ कुलतबाट जोगिन सक्छन् ।’ स्थानीय जनसहभागितामा कूल २ करोड ३७ लाख रुपैयाँको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो । ३ तले भवनमा आवास कक्ष, बैठक कक्ष, टेलिभिजन कक्ष, जिम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हल लगायत सुविधा छन् ।