Swornakshar Logo

विखण्डनकारी शक्तिलाई मान्यता दिँदा जनकपुरमा ‘स्वतन्त्र मधेस’ को नारा लाग्‍यो

२७ फागुन । नवलपरासी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पृथकतावादी नेता सिके राउतलाई मान्यता दिदा स्वतन्त्र मधेसको नारा लागेको बताए । उनले भने ‘राउतसँग सरकारले गरेको सम्झौताले विखण्डनकारी शक्तिले मान्यता पायो र जनकपुरमा ‘स्वतन्त्र मधेस’ को नारा लागे हो।’

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नवलपरासीले सोमबार आयोजना गरेको बृहत कार्यकर्ता भेला लाई सम्बोधन गर्दै नेता पौडेलले जनकपुरमा सिके राउतको उपस्थितीमा ‘स्वतन्त्र मधेश’ को नारा लागेको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए।
सिके राउतसँग सरकारले गरेको सम्झौताको भाषाका बारेमा सरकार बोल्दैन। जनकपुर पुगेर सिके राउत स्वतन्त्र मधेशको नारा लगाउँछन्। अनि आमनागरिकले त्यो सम्झौताले स्वतन्त्र मधेशको नारा लगाउन छुट दिएको भनेर नबुझे के बुझ्ने ? उनले प्रश्न गरे।

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक राष्ट्रवाद शब्दको दुरुपयोग गरेको समेत आरोप लगाए। उनले भने, ‘‘केपी ओलीले आफू जत्तिको राष्ट्रवादी कोही नभएको ढोंग पिटेका थिए। आज उनका गतिविधीले के देखाइरहेको छ। अब मुलुकलाई कथित राष्ट्रवादी नारा लगाउने मान्छे होइन देशभक्त मान्छे चाहिएको छ।’

कम्युनिस्ट सरकारका कारण एक वर्षको समय बेकाममा बितेको नेता पौडेलको तर्क थियो। ‘‘गएको एक वर्षमा मुलुकलाई समृद्ध बनाउने सबैभन्दा उत्तम समय थियो। तर केपी ओलीजीले त्यो समयको दुरुपयोग गर्नुभयो। एक वर्षको समय बर्बाद भयो,’ पौडेलले भने, ‘‘ओलीजीले एकवर्ष पुगेको अवसरमा विकासको पूर्वाधार बसाएको भन्नुभयो तर नेपालमा विकासको जग नेपाली कांग्रेसले बसाएको हो।’

माओवादीको द्वन्द्व र राजनीतिक अस्थिरता हुँदा पनि कांग्रेसले विकासको आधारशिला खडा गरेको स्मरण गर्दै उनले प्रश्न गरे, ‘‘आज दुईतिहाइको सरकार भएका समयमा खै के भएको छ ? उहाँहरुले के को जग बसाउनुभयो ? ,’