Swornakshar Logo

योगेश भट्टराईको प्रश्नः मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ?

१५ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब हुँदाहुँदै ७ जनालाई किन उडान गरियो भनेर प्रश्न गरेका छन् ।

उनले समयले यो प्रश्नको उत्तर माग्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर कोहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेर मात्र पाथीभरा उडान गर्दै आएका छन्, पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद् हुन ।

ताप्लेजुङको पाथीभराबाट काठमाडौंतर्फ उडेको हेलिकोप्टर दुर्घटना हुँदा बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।