Swornakshar Logo

विद्यार्थी संगठनको दबाबपछि त्रिविले घोषणा गर्‍यो केन्द्रीय निर्वाचन समिति

६ फागुन । काठमाडौं ।तत्काल स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी र अखिलले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन्।
फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएपनि निर्वाचनको कार्यतालिका नआउँदा समयमै निर्वाचन नहुने भन्दै दुबै संगठनले आज उपकुलपतिको कार्यलय घेराउ गरेका थिए ।
त्रिवि पदाधिकारी दलीय भागवण्डामा नियुक्त भएकाले स्वार्थका कारण निर्वाचन नगराउन चाहिरहेको विद्यार्थी संगठनको आरोप छ। अखिल र अखिल क्रान्तिकारीले निर्वाचनको कार्यतालिका माग्दै यसअघि नै उपकुलपतिको कार्यालय घेराउ गर्ने, स्ववियु निर्वाचन हुने क्याम्यस प्रमुखको कार्यालय घेर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका थिए।

कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले स्ववियु निर्वाचन तत्काल अघि बढाउन चेतावनी दिएका थिए। अध्यक्ष तामाङले भने, ‘स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढे अर्कोपटक त्रिवि ऑउदा पदाधिकारीको राजीनामा लिएर मात्रै फर्कनेछौं।’

उपकुलपतिको कार्यलय घेराऊ लगत्तै त्रिविद्वारा स्ववियुको केन्द्रीय निर्वाचन समिति घोषणा

विद्यार्थीको घेराउ लगत्तै त्रिविले केन्द्रीय निर्वाचन समन्वय एवम् निरीक्षण समितिको घोषणा गरेको छ।
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिन त्रिभुवन विश्वविद्यालय घेराऊ गर्न पुगेका सत्तारुढ नेकपा निकट अनेरास्ववियु र क्रान्तिकारीको घेराउ कार्यक्रमै सो समितिको नामावली सार्वजनिक गरिएको छ।

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमितिको नामावली सार्वजनिक गरिएको हो। समितिको सहसंयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती रहेका छन् भने सदस्यहरुमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसि, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगाबहादुर थापामगर रहेका छन् ।

केन्द्रीय निर्वाचन समिति बन्नुलाई केही सकारात्मक रुपमा लिएको क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए। समितिको वैठक तत्काल वसेर स्ववियु निर्वाचनको तालिका सार्वजनिक गर्ने त्रिविका रजिस्टार डिल्लीराम उप्रेतीले बताए।