Swornakshar Logo

हतियारले सत्ता कब्जा गरेको भए प्रतिक्रियावादीले कत्लेयाम गरी सक्थेः प्रचण्ड

१ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले हतियारको बलबाट सत्ता कब्जा गरेको भए प्रतिक्रियावादीहरुले कत्याम गरीसक्ने बताए । ‘जनयुद्ध’ दिवसको सन्दर्भमा पार्टी मुख्यालय धुम्बाराहीमा उनले भने ‘हतियारको बलबाट सत्तामा पुगेको भए प्रतिक्रियावादीहरुले कत्लेयाम गरी सक्थे तर शान्तिपूर्ण र संसदीय तरिकाबाट दुई तिहाई आएको छ । जुन केही केहीलाई पचेको छैन ।’
२० औ शताब्दीको क्रान्तिको समिक्षा गर्दै नयाँ मोडेलको समाजवादको सुरुवात गर्ने उनले बताए । २४औ जनयुद्ध दिवस र जनआन्दोलनका शहीदको सम्मान गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘आज शहीदको सपना पूरा गर्न संकल्प गर्ने दिन हो ।’
प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक बहस धेरै भएको बताए । उनले भने ‘तीन दशकको इतिहासलाई हेर्ने हो भने दुई धारा प्रवल रुपमा देखिए । शान्तिपूर्णरुपमा लड्ने धारा र अर्को जनयुद्धको माध्यमबाट वैदेशिक हस्तक्षेप र सामन्तवादको विरुद्ध लड्ने धारा ।’
हामी दुबै अध्यक्षको सहमतिमा जनयुद्ध र जन आन्दोलन दिवस मनाउदै छौ । कामको चापले गर्दा प्रधानमन्त्री आउन नसकेको प्रचण्डले बताए ।

प्रचण्डले मदन भण्डारीको प्रशंसा गर्दै भने ‘मलाई गर्व लागेको छ कि शान्तिपूर्ण रुपमा यो प्रक्रिया लैजाने नेता मदन भण्डारी नै हुन् । शान्तिपूर्ण रुपमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने एउटा धारको नेतृत्व कर्ता मदन भण्डारीको सम्झना गर्ने दिन एकता गरेका हौ । अर्को धार हामी जसले जनयुद्धको मार्फत राज्य व्यवस्था परिवर्तन गरेको छ ।’

हिजो फरक पृष्ठभूमि भएका पार्टीहरुको भावनात्मक एकता हुन आवश्यक छ । यसको लागि हाम्रो लागि जेठ ३ र फागुन १ गते महत्वपूर्ण छ उनले भने ।

मानिसलाई त पत्याउन गाह्रो भएको छ, एकता भएकोमा । अहिले पनि जसरी पनि एकता भत्काउन खोजेको बताए । संसारभरी रक्षात्मक भएको कम्युनिष्ट आन्दोलन नेपालमा भने दुई तिहाई आउनु आफैमा नयाँ भएको बताए । तर अहिले सबै कम्युनिष्ट लोकतान्त्रीक तरिकाले सफल भएका छन् ।

केही विदेशीहरुबाट नेताहरुको बीचमा पनि फाटो पार्ने काम हुन्छन् र भइरहेका छन् । उनले भने, ‘हामी कसैको आर्शिवादले यहाँ पुगेका होइनौ । हामी एक जुट हुँदा शहीदको सपनाको पूरा हुन्छ । सबैले हेक्का राखौ प्रतिक्रियावादीको प्रोपोगाण्डाका पछि नलागौं र यो एकतालाई बलियो बनाउदै जाऔं ।’

प्रचण्डले भने, ‘संसारले नेपाललाई हेर्नु पर्ने भएको छ । हामीले नयाँ तरिकाले नेपाल समृद्धि बनाउदै छौं । जनयुद्ध जनआन्दोलन र १२ बुँदे सम्झौता,सेना समायोजन,विस्तृत शान्ति सम्झौता सबै आफ्नै मोडेलमा भएका छन् । ’