Swornakshar Logo

विचारमा म  मात्रै होइन सबै चिप्लनुपर्छः भट्टराई

२२ माघ । रामेछाप । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले पुँजीवाद र साम्यवादले जुधेर सिङ फुकालिसकेकोले संसारलाई नयाँ विचार चाहिएको बताएका छन् ।

नयाँ शक्ति पार्टीले सञ्चालन गरेको एक महिने जनसंवाद यात्राको क्रममा मंगलबार रामेछापको मन्थलीमा जारी जनसंवादमा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै डा। भट्टराईले अहिले पुँजीवाद र साम्यवाद हिजोको अवस्थामा नरहेको र यसले आफ्नो स्वरुप र अवस्था गुमाइसकेको बताए ।

‘हिजोका पुँजीवाद र साम्यवाद दुबैले एकअर्कासँग जुधेर सिङ फुकालिसके’, उनले भने, ‘मार्क्स फर्केर आउनुभो भने पनि उहाँले यही कुरा भन्नुहुन्छ ।’ हिजोको अवस्था र आजको अवस्था उही नरहेको उनको तर्क थियो ।

‘अहिले न पुँजीवाद पुँजीवादजस्तो छ, न साम्यवाद साम्यवाद जस्तो । न्यूटनीय साइन्सलाई मार्क्सले पढ्दा आइन्स्टाइन केवल ४ वर्षका थिए । अहिले त स्टेफन हकिङ्स र म्याक्स प्लांकको विज्ञानसम्म आइपुगेको छ’, उनले भने, ‘संसार धेरै अघि बढिसक्यो । हिजोको सूत्र घोकेर आजको राजनीति हुँदैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका डा। भट्टराईले मार्क्सको पालामा उपलब्ध सम्पत्तिको स्वरुपहरुमा नै बदलाव आइसकेको र अहिले मालिक र मजदूर छुट्याउनै मुस्किल रहेको तर्क राखे।

पुरानै पार्टीमा टाँसिएर बस्दा नेपालीको दिमागमा झ्याउ र लेउ लागेको भन्दै उनले हिजोका सूत्र घोकेर आज समृद्धि र मानव सभ्यताको नेतृत्व गर्न नसकिने बताए ।

‘कतिपयले मलाई विचारमा चिप्लियो भन्नुहुन्छ । म मात्रै होइन, सबै चिप्लनुपर्छ,’ उनले भने, ‘पार्टीलाई विश्वासको रुपमा लिएर जातिवादीजस्तै मानसिकता बोकेर अगाडि बढ्न सकिँदैन ।’ उनले मार्क्स, लेनिन र बिपी आदिले कुन प्रसंगमा बोलेका थिए भनेर याद नगरी सूत्रजस्तै घोकेर मात्रै समृद्धिको नेतृत्व गर्न नसकिने बताए ।

एक महिने जनसंवाद यात्रामा रहेको नयाँ शक्ति पार्टी, नेपालको टीम आज ८औं दिन प्रदेश नं ३ अन्तर्गत सिन्धुलीको कार्यक्रम सकेर रामेछाप पुगेको हो ।