Bagmati Samachar Logo

३ प्रदेशको वार्षिक उत्सव, अबको पहिलो बैठकमा राजधानी र नामाकरण टुङ्गो लाग्ने

१८ माघ । हेटौडा । ३ नं प्रदेशले प्रदेशसभा सुरु भएको एक वर्ष पुगेको अवसरमा वार्षिक उत्सव मनाएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
नेपाल संघीयतामा गए पछि प्रदेश ३ को प्रदेश सभाको पहिलो बैठक २०७४ साल माघ १८ गते बसेको थियो । आज एक वर्ष पुरा भएको छ । प्रदेश सभाको जेष्ठ सदस्य डोरमणि पौडेलले सभामुखको भूमिका निर्वाह गर्दै प्रदेश सभाको पहिलो वैठक बसेको थियो ।
कार्यक्रममा ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वार्षिक उत्सवको शुभकामना दिदैं हिउँदे अधिवेसनको पहिलो बैठकमा नै ३ प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बताए ।
कर्मचारीको योगदानका कारण सफल भएको बताए ।
उनले सार्वजानिक खरिद ऐनको प्रक्रियामा जानुपर्ने भएकाले बजेट भएता पनि काम गर्न ढिला भएको बताए । नयाँ भएकाले सिक्ने प्रक्रियामा रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै प्रतिपक्ष दलका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेश सरकार किन हिउँदे अधिवेसन सञ्चालन गर्न सकेन भन्दै छिट्टै अधिवेसन सञ्चालन गर्न आग्रह गरे । उनले पहिलो बैठकमा नै राजधानीको विषय र नामाकरणको विषय टुङ्गो लगाउन नसके संसद बैठकको औचित्य नरहने समेत बताए । नामाकरण र राजधानी टुङ्गो नलगाउदाँ जनताले यो सरकारलाई नालायक सरकार भन्न थालिसकेको बताए । दुई तिहाइ हुँदा पनि यस्ता काम चाँडो गर्न नसकेकोमा सरकार कमजोर रहेको बताए ।

प्रदेश सरकारले २४ कानुन निर्माण गरेको छ । १ वर्षमा ८० पटक बैठक बसेको प्रदेश सभामा २ विधेयक दर्ता भए । प्रदेशको प्राथमिकताका ५० वटा कानुन मध्ये प्रदेश सरकारले २४ वटा कानुन बनाउन सकेको छ । ३ नम्बर प्रदेश सरकारको लागि ९९ वटा कानुनहरुको पहिचान गरिएको मध्ये ५० वटा कानुनलाई प्राथमिकीकरण गरिएको छ ।
प्रदेश सरकारले प्रदेश सरकारको गतवर्षमा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण ऐन, गाउँ,नगर, जिल्ला सभा सञ्चालन (कार्यविधि) सम्बन्धी विधेयक २०७४, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, स्थानीय तहका पदाधिकारी तथा सदस्यहले पाउने पारिश्रमिक तथा सुविधा सम्बम्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ बनाएको छ । कार्यक्रममा एक वर्ष चित्र गरिएका कामहरुको प्रदेश सभा दर्पण २०७५ पनि प्रदेश प्रमुख अनुराधा कोइरालाले विमोचन गरेकी थिइन्, ।

वार्षिक उत्सवमा प्रदेश सभाका उपसभामुख राधिका तामाङले स्वागत भनाइ राखेका थिए । कार्यक्रममा प्रदेश कामन्त्रीहरु, प्रदेश सभाका संसदहरु, प्रदेश प्रमुख सचिव, मुख्यन्याधिवक्ता, मन्त्रालयका सचिव, विभिन्न स्थानिय तहका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।