Swornakshar Logo

डा.केसीले तोडे अनसन, फरक रुपमा लड्ने प्रतिवद्धता

१८ माघ । काठमाडौं । डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा तोडेका छन् । चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने बताए ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास भइसकेको छ,यस्तो अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

डा. केसीले अहिले पास भएको विधेयक यस्तै अवस्थामा स्वीकार्य नहुने बताएका छन् ।

अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् । साथै विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको भन्दै उनले भने ‘यसरी पारित भएको ऐन हामीलाई स्वीकार्य छैन ।’

उनले अनसन तोड्न आग्रह गर्ने नागरिक अगुवा, माथेमा कार्यदल र आवासीय चिकित्सकहरुलाई धन्यवाद दिँदै भनेका छन्, ‘उहाँहरुको भावनालाई सम्मान गर्दै उहाँहरुकै रोहवरमा म १६ औं पटकको आमरण अनसन टुंग्याउने घोषणा गर्दछु ।’

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिए ।