Swornakshar Logo

सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

१३ माघ । काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा विरोध प्रदर्श गर्ने निर्णय गरेको हो ।
आफ्नो विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले खबरदारी गर्ने निर्णय गरेको हो ।
पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
स्वीट्जरल्याण्डबाट फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको असन्तुष्टि भन्दै डा. केसीलाई दिएको जवाफ गैरजिम्मेवारपूर्ण भएको कांग्रेसको ठहर छ । व्यक्तिको स्वतन्त्रताको हकलाई प्रधानमन्त्री ओलीले सम्मान गर्न नसकेको प्रवक्ता शर्माले बताए ।