Swornakshar Logo

टेकु खरिबोटमा सहिद शुक्रराज शास्त्रीको सालिक अनावरण

१० माघ । काठमाडौं । काठमाडौंको टेकु पचलीमा शहीद शुक्रराज शास्त्रीको पूर्ण कदको सालिक अनावरण गरिएको छ । काठमाडौंको टेकु पचलीान शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिएको थियो ।
यस वर्षको शहीद सप्ताहका कार्यक्रमअन्तर्गत माघ १० गते खरिबोटमुनि आयोजना गरिएको श्रद्धाञ्जलिसभामा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शालिकको अनावरण गरे । महानगरको वडा नं. १२ ले १० लाख खर्च गरेर पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको सालिक निर्माण गराएको हो। शास्त्रीलाई खरिबोटको उत्तर मोहडामा झण्ड्याइएको थियो। शालिकलाई यात्रुहरूले अनुहार देख्ने गरी पूर्व मोहोडा बनाएर राखिएको छ। शालिक महेश तुलाधरले ४ महिना समय लगाएर तयार पारेका हुन्।
सो कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलले सहिदको बलिदानीले अहिलेको प्रणालीमा आइपुगेको प्रसङ्ग उल्लेख गर्दै यस प्रणालीलाई टिकाउन सवै दलको एउटै दृष्टि हुनु पर्ने बताए। अहिले सरकार परिवर्तन भएको होइन, प्रणाली परिवर्तन भएको हो। यो प्रणाली स्थापना गर्न सहिदको योगदान बिर्सन नहुने बताउँदै उनले भने, प्रणालीलाई संस्थागत गर्न पक्ष र प्रतिपक्ष भएर हुँदैन। सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले दलको कुरा गर्ने नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुती दिने सहिदहरुको योगदान आफ्ना लागि सिकाइ भएको बताए। सहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुनेछ। हामी पनि लामो समयसम्म चर्चा हुने काम गर्न चाहन्छौं तर धेरै बोलेर काम गर्नै नदिने परिपाटीले हैरान बनाएको छु, मेयर शाक्यले जुन कुरामा पनि नराम्रो मात्र देख्ने परिपाटीमाथि टिप्पणी गरे। श्रद्धाञ्जली सभामा धारणा राख्ने क्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले जनताका कुरा नजिकबाट सुन्न सक्ने तहगत सरकार बन्ने वातावरणका लागि सहिदहरुले गरेको त्यागलाई प्रजातन्त्रको गुरुमन्त्र मान्नु पर्ने बताइन्। अहिले हामीले पाएको शासन प्रणाली र तीन तहका सरकारको प्राप्तिलाई उहाँहरुको योगदानसँग जोडेर हेर्नुपर्छु, उनको तर्क थियो।
वि. सं. १९५० सालमा बनासरमा जन्मनु भएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शाशनविरुद्ध जागरण अभियानमा सक्रिय थिए यसै क्रममा काठमाडौंको इन्द्रचोकमा प्रवचनकामाध्यमबाट जनतालाई प्रजातन्त्रका पक्षमा उक्साएको आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो। जेल सजायँ भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा, नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड्याएर प्राण दण्ड दिइएको थियो। शास्त्रीको श्रद्धाञ्जली सभा भएको यो स्थानलाई वि.सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो। सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त ममथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा सहि गंगाला श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा हुनेछ । त्यस्तै माघ १६ गते सहिद स्मारक लैनचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ।