Swornakshar Logo

हेटौँडामा निखिल र एलनले सुनाए कविता

५ माघ । हेटौडा । मकवानपुरको हेटौँडामा युगल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । यश हेटौँडाको आयोजनामा भएको कार्यक्रममा कवि निमेष निखिल र कवि तथा पत्रकार रामकुमार एलनले कविता वाचन गरेका छन् ।
कार्यक्रममा एलन तथा निखिलले आफ्नो पाँच–पाँच वटा कविताहरु प्रस्तुत गरेका थिए । प्रत्येक एक कविता वाचन पछि उक्त कवितामाथि टिप्पणी समेत गरिएको थियो भने कविताको विषयमा कवि एसके निधन तथा मसान उपासकले कवि एलन र निखिललाई प्रश्न समेत गरेका थिए ।

कविता वाचन कार्यक्रमहरुमध्ये फरक खालको कार्यक्रमको स्वाद दिने गरि कार्यक्रमको आयोजना गरिएको हो । रिडर्स क्लबको रुपमा आफ्नो पहिलो कार्यक्रम गरेको यश हेटौँडाले आगामी दिनमा समेत नियमित कार्यक्रम गर्ने जनाएको छ ।

कार्यक्रममा कवि एलनले सम्पादक घाँस खादैन, बा एक हजार उधारै रह्यो, राँक्किएका रोमप्रसाद सहित पाँचवटा कविता प्रस्तुत गरेका थिए भने निखिलले उ हराएको सूचना, शान्तिको खोज, संगति पर्खेर सहित पाँचवटा कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको विषयमा कवि पुष्प परागले जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेश नंबर ३ का प्रदेशसभा सांसद मुनु सिग्देल, ओम घलान, मकवानपुरका कवि तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।