Swornakshar Logo

संविधान संशोधन फेसनको विषय होइनः प्रधानमन्त्री ओली

४ माघ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन फेसन नभई आवश्यकता र औचित्यका आधारमा हुने प्रतिवद्धता दोहोर्याएका छन् । सत्तारूढ दलकै सांसद प्रदीप यादवले उठाएको संविधान संशोधनबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभाको बैठकमा भने, “संविधान संशोधन आवश्यकताले, औचित्यले हुने हो, फेसन होइन । यो अन्धाधुन्ध अस्विकार गर्ने विषय पनि होइन । संविधान देशका लागि बनाइएको हो, देशले जहिले आवश्यक ठान्छ, जहिले उपयुक्त हुन्छ, त्यहीले संशोधन हुन्छ ।”
उनले संविधान परलोकका लागि बनाइएको अपरिवर्तनीय पुरानो धर्मशास्त्रझैँ नभएको पनि जिकिर गरे । त्यस्तै उनले कतिपय दलले जनमत निर्माणका लागि ठाउँ–कुठाउँ संविधान संशोधनको मुद्दा उठाएको बताउँदै अहिले संविधान संशोधनको बेला आइनसकेको मनशाय व्यक्त गरे ।
“जनतालाई अधिकार सम्पन्न बनाउन, अवसर दिन, सुरक्षा र सम्मानित, भेदभावरहित जीवन बाँच्नका लागि, विकासमा योगदान दिनेगरी संशोधन गरिनुपर्छ । जहिले उपयुक्त हुन्छ, आवश्यक हुन्छ, औचित्य र अनिवार्य देखिन्छ । सरसल्लाह, छलफल निष्कर्ष निकालेर संविधान संशोधन हुन्छ,” उनको भनाइ थियो ।