Swornakshar Logo

प्रदेश नम्बर २ मा मन्त्री र सचिवको लफडाः मन्त्रीले यसकारण कुटे सचिव झालाई

२९ पुस । काठमाडौं । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिवलाई आफ्नो कार्यकक्षमा बोलाएर झापड हानेका छन् ।
आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर आफुलाई थप्पड हानेको उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झाले आरोप लगाएका छन् ।

आईतबार दिउँसो ३ बजे अर्थमन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर गरिबी निवारण कोषको कार्यक्रम आफुले भनेको गैरसरकारी संस्थालाई नदिएको आरोपमा आफुलाई कुटपिट गरेको गुनासो पोखे । तर मन्त्री यादवले भने आफुले कसैलाई नकुटेको बरु उल्टै आफुलाई दुव्र्यवहार गरेको आरोप लगाए । कुटाई खाएका सचिव झाको गाला भने सुन्निएको देखिन्छ । यता थप्पड खाएका सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नियन्त्रणमा लिएको छ ।

सचिव झालाई थप्पड हानेको समयमा प्रदेश २ का सभामुख सरोजकुमार यादव समेत सोही ठाउँमा उपस्थित थिए ।  आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको पुनरावलोकनको काम चलिरहेको समयमा मन्त्रालयको अन्तिम बजेट ड्राफट पठाउने विषयमा विवाद हुँदा मन्त्री र सचिवबीच कुटाकुट भएको हो । मन्त्री यादव संघीय समाजवादी फोरम नेपालबाट प्रदेश २ सरकारमा मन्त्री भएका हुन् ।

उता, मन्त्री यादवले सचिव झाले आफुमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।  सचिव झा मन्त्रीमाथि जाई लाग्ने प्रयास गरेको मन्त्री यादवले बताए । ।

मन्त्री यादवले आफूले नकुटेको दाबी गरे । सचिव झाले प्रदेशका सभामुख र अर्का एकजना मन्त्रीको अगाडी ‘म लोकल हुँ’ मन्त्रीको टुप्पी उखालिदिन सक्छु भन्दै गाली गरेको मन्त्री यादवले बताए । आफ्नो पदिय मर्यादा विपरित चर्को स्वरमा बोल्दै उनी कोठाबाट निस्किएको उनको भनाई छ ।

गरिबी निवारण अन्तर्गतको उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए । सचिव झाले मन्त्री यादवले आफुमाथि कार्यकक्षमा हातपात गरेको आरोप लगाएका छन् । विवाद पछि सचिव झा प्रहरी नियन्त्रणमा छन् ।

सचिव झालाई यसअघि महोत्तरी जिल्लाको जिल्ला वन अधिकृत हुँदा स्थानीयले कालोमोसो समेत दलेका थिए । यसअघि सचिव झा कर्णाली प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयमा पनि विवादमा परेका थिए ।

वातावरण मन्त्री नन्द बुढाले आफूलाई नटेरेको भन्दै सचिव झालाई गत जेठ महिनामा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उप–महानिर्देशक समेत भैसकेका झा गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवमा सरुवा भएका थिए ।