Swornakshar Logo

हामी फेरि मिल्छौंःमिश्र

२८ पुस । काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलले पार्टीमा आएको विभाजनले कार्यकतामा चिसोपना ल्याएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा शनिबार अयोजित पत्रकार सम्मेलनमा उनले कार्यकतामा आएको चिसोपनालाई सम्बोधन गर्नु सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने बताए ।
‘हामी यो तीनवटै चुनौतीबाट माथि उठ्छौं भन्ने थियो । माथि उठ्ने क्रममा यो पटक जस्तो जटिलता आयो, मलाई त अझै के लाग्छ भने एउटा विन्दु आउँछ, जहाँ हामी फेरि मिल्छौं । र, त्यो विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्छौं ।’

मिश्रले आफूहरु नजानेको यात्रामा (राजनीति) हिँडेको भन्दै त्यसक्रममा दुवै पक्षबाट कमजोरी भएकोे बताए । उनले भने, ‘नजानेको यात्रामा हामी सँगै हिँड्दा हाम्रो तर्फबाट कमजोरी भए होलान् । उहाँका तर्फबाट पनि भए होलान्। सँगै हुँदा केही राम्रा कुराहरु पनि भएका छन् होला । ’नेपाली समाजको धारातलीय विरोधाभाष र जटिलताहरू वैकल्पिक पार्टी निर्माणमा पनि आउने भन्दै त्यस्ता प्रतिकुलताबाट आफूहरु माथि उठेर अघि बड्ने मिश्रले बताए । उनले भने, यो यात्रा कुनै हालतमा रोकिँदैन । साथ दिने साथीहरु देशभर हुनुहुन्छ ।’
आर्थिक पारदर्शिताका बारेमा आफूहरूमाथि अनेक आक्षेप लगाएको भन्दै त्यसबाट आफू निकै दुःखी भएको मिश्रको भनाइ छ । उनले अघि भने, ‘त्यसैगरी मैले पनि आरोप लगाएँ भने धेरै आरोपहरु लगाइनसक्छ । तर म त्यस्तो हिलो छ्यापाछ्याप गर्ने पक्षमा छैन । तपाईँहरुले बेस्कन उक्साउनुभयो भने पनि म त्यो काम गर्दिनँ ।’
पार्टीका अर्का संयोजक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।