Swornakshar Logo

पाकेटमारको कोड भाषाः मोबाइललाई ‘कान’, समातिए ७७ चोर

४ पुस । काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा चोरी र लुटपाटमा संलग्न भएको आरोपमा ७७ जनालाई पक्राउ गरेको छ । महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको हो, जसमा १ बच्चासहितकी आमा समेत पक्राउ परेकी छन् ।

काठमाडौंका सार्वजनिक सवारी साधनमा लुटपाट गर्नेदेखि विभिन्न सार्वजनिक स्थल र घर तथा आवासीय क्षेत्रमा समेत उनीहरुको संलग्नता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

उपत्यकामा चोरी र लुटपाटमा संलग्न उक्त गिरोहले २–२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजनिक बसहरुमा यात्रारत यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले पक्राउ पर्नेहरुबाट बरामद गरिएको ५ लाख ९६ हजार पीडितलाई आवश्यकता र व्यवहारिकताको आधारमा फिर्ता गरिसकेको छ । बरामद भएको १ लाख ६० हजार ७०० रुपैयाँ चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरी फिर्ता गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै दाङको घोराहीमा बस्ने धनीमान रोकामगरको न्युरोडबाट लुटिएको १ लाख ९ हजार पकेट मार्दामादै पक्राउ गरी प्रहरीले फिर्ता गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना, नक्कली पेस्तोल, चक्कुलगायतका सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ ।

पहिलोपटक पकेट मार्नेलाई १ महिना जेल र सोही बराबर बिगो, दोस्रोपटक पकेट मारेको भेटिएमा २ महिना जेल र सोही बराबर बिगो कार्वाही हुने प्रहरीले जनाएको छ ।

सवारी साधनमा पकेट मार्दा यस्ता हुन्छन् सांकेतिक भाषा
प्रहरीले उपत्यकाका सार्वजनिक सवारी साधनहरुमा चोरी र लुटपाट गर्दा पकेटमारहरुले आफ्नै खालको सांकेतिक भाषाको प्रयोग गर्ने गरेको खुलासा गरेको छ ।

सुरुमा पकेटमारहरु सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुको भीडमा घुस्ने गर्छन् । त्यहाँ उनीहरुको २ देखि ६ जनासम्मको समूह हुने गर्दछ । जब भीडमा उनीहरु घुस्छन् तब उनीहरुले सांकेतिक भाषाको प्रयोग गरेर पकेट मार्ने गर्छन् ।

उनीहरुले पैसालाई द, मोबाइललाई कान, पकेटमारी पीडित– रामे, पकेटमारी गर्ने ९मास्टर० काशी, पैसा धेरै भएको यात्रु देखिएमा टानको द, पैसा थोरै भएको यात्रु देखिएमा जुटको द भनेर सांकेतिक भाषाको प्रयोग गरेको पाइएको छ ।

त्यस्तै उनीहरुले गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई आयो ठूलदाई, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग्नलाई टप्की, गाडीभित्र अगाडि सर भन्यो भने अकल जा, गाडीभित्र पछाडि सर भन्यो भने चिछल जा भन्ने सांकेतिक भाषाहरु प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।

के भन्छन् एसएसपी लामा

लुटपाटमा संलग्न अपराधीहरुले विशेषगरी बाहिरबाट आएका व्यक्तिहरुलाई टार्गेट बनाउने गरेको पाइएको परिसरका एसएसपी वसन्त लामा बताउँछन् । पुरुषले चोरी, लुटपाटमा विशेषतः सुन्दरी महिलाहरुलाई प्रयोग गर्ने गरेको उनले बताए ।

१५ दिनमै यति ठूलो संख्यामा चोरी, लुटपाटमा संलग्न अपराधीहरुलाई पक्राउ गर्नु नेपाल प्रहरीको सफलता भन्दै एसएसपी लामा भन्छन्, ‘यातायात व्यवसायीहरुसँग सहकार्य गरी ५० जनाभन्दा बडि सादा पोसाकका प्रहरीलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्न लगाएका थियौं । त्यस क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।’