न्यायपालिका र संवैधानिक अंग पार्टीकरणको चपेटामाः थापा
२४ मंसिर । हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकार सञ्चालनको लागि महत्वपूर्ण मानिने सबै क्षेत्र राजनीतिक चपेटामा पर्दा सरकारको काम प्रभाबकारी हुन नसकेको बताएका छन् ।
मुलुकमा हरेक खालका परिवर्तन भएपनि निम्न बर्गीय जनताले परिवर्तनको आभास गर्न नपाएको बताएका अध्यक्ष थापाले न्यायपालिका, संवैधानिक अंग, शैक्षिक क्षेत्र पार्टीकरणको चपेटामा परेकोले अहिले सरकारको काम प्रभावकारी हुन नसकेको बताए ।
उनले दुई तिहाई बहुमतका आधारमा सञ्चालनमा रहेको सरकारले मुलुक सञ्चालनमा सोचे जनताले सोचे अनुसारको काम गर्न नसकेको बताए । उनले भने, ‘अहिले सम्मको काम हेर्ने हो भने केपी वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण एवं सम्मेलनको सोमबार हेटौंडामा उद्घाटन गर्दै राप्रपा अध्यक्ष थापाले सरकार आफ्नो काममा पूर्णरुपमा असफल भएको बताएका हुन् ।
उनले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको बताए । उनले तराईमा अलग मधेश राज्यको माग गर्दै देश टुक्रयाउने आवाज उठाउँदासमेत सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै सरकारको आलोचना गरे। उनले सरकारको गलत कार्यशैलीका कारण राष्ट्र विखण्डन र धार्मिक द्वन्द्वको खतरा बढेको दावि गरे ।
महिलाबिरुद्धका हिंसा बलात्कारका घटना देशका बिभिन्न भागमा भैरहँदा महिला असुरक्षित भैरहँदा सरकार मुखदर्शक बनेको आरोप लगाए ।काठमाडौंमा पूर्वराजदूतको हत्या हुँदासमेत अपराधि खोज्ने र कारबाही गर्ने तहमा सरकार आउन नसक्नुले मुलुक ठूलो संकटमा पर्ने खतरा बढेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्: