Swornakshar Logo

पूर्वआईजीपी बोहोरालाई सर्वोच्चले दियो सफाइ

२० मंसिर । काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ ।

बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले पूर्वआईजीपी बोहोरालाई भ्रष्टाचारको मुद्दामा सफाई दिएका छन।

उनलाई २०६८ साल चैत २१ गते विशेष अदालत काठमाडौंले भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र करिब २७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

पूर्वआईजीपी बोहोराले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरि करिब २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्ष कैद र करिब २७ लाख नै बिगो र जरिवाना भराउने फैसला सुनाएको थियो ।

विशेष अदालतको फैसलामा चित्त नबुझेपछि पूर्वआईजीपी बोहोराले २०६९ साल पुष ११ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।

यो मुद्दामा बिहिबार न्यायाधीशद्वय घिमिरे र भण्डारीको इजलाशले निर्दोष साबित गर्दै सफाई दिएका हुन ।

बिहिबारको इजलाशबाट भ्रष्टाचार मुद्दामा दोषी पाइएका पूर्वआईजीपी बोहरासहित उनका छोरा, छोरी र श्रीमतीले पनि सफाई पाएका छन् ।