Swornakshar Logo

कमल थापाका कारण एकता भाँडियोःराणा

२७ कार्तिक । काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो कारण नभएर कमल थापाकै कारण पार्टी एकता नभएको आरोप लगाएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनपछि गरौ भन्दा थापाले नमानेको बताए ।
एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा नमानेको उनले बताए।
‘तातै खाउँ छिटै मरौँ’ भन्ने प्रवृत्ति थापामा भएकाले एकता प्रक्रिया तत्कालका लागि रोकिएको राणाले बताए ।
आफू अझै पनि तीनवटै पार्टी एकताका लागि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए । एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको बताए ।
कमल थापाले आफ्नै पार्टीको नाम, चुनाव चिन्ह र झण्डा कायम राख्नुपर्ने अडान राखेकाले पनि एकतामा भाँडिएको बताए ।

उनले भने“तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ । नाम, झण्डा र चुनाव चिन्ह सबै एउटै पार्टीको कायम राख्न सकिदैन । गाईलाई चुनाव चिन्ह मान्न म सक्दिन ।”

एकीकृत पार्टीले गणतन्त्र मान्ने कि नमान्ने विषयमा पनि फर्मुला तयार भइसकेको तर उक्त फर्मुला भने अहिले सार्वजनिक नगर्ने बताए ।

धर्मनिरपेक्षका विषयमा भने सहमति भइसकेको उनले बताए । तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा रहेको दाबी गरे।

नेपाली कांग्रेस तत्कालिन नेकपा एमाले र माओवादीले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर देशका लागि अन्याय गरेको राणाको आरोप थियो ।