Swornakshar Logo

काठमाडौँमा तत्काल उपनिर्वाचन भए आत्मघाती हुने पूर्व एमालेको ठहर

२४ असोज ।
काठमाडौँ । पूर्व एमालेको काठमाडौँको सचिवालय बैठकले तत्कालका लागि उपनिर्वाचन भए पार्टीका लागि आत्मघाती हुने ठहर गरेको छ ।
बुधबार काठमडौँमा बसेको सचिवालय बैठकले उपनिर्वाचन भए त्यो पार्टीका लागि आत्मघाती हुने ठहर गरेको हो । काठमाडौँ क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश क र ख का सांसदहरू प्रकाश श्रेष्ठ र बसन्त मानन्धर समेतको उपस्थितिमा भएको बैठकले तत्काल पार्टीको चुनाव भए आत्मघाती हुने भन्दै नेतृत्वको ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका नेता बामदेव गौतमका लागि भनेर क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजिनामा पार्टीमा बुझाएपछि त्यसको बारेमा समिक्षा गर्न बसेको बैठकले यस्तो समिक्षा गरेको हो ।

बैठकपछि पूर्व एमाले काठमाडौँ अध्यक्ष एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का संसद कृष्णकुमार रार्इले रामवीर मानन्धरलार्इ राजिनामा फिर्ता लिन र पार्टी नेतृत्वलार्इ उपनिर्वाचनमा नजान आग्रह गर्ने निर्णय भएको जानकारी दिए । उनले भने ‘पहिलो कुरा काठमाडौँ भित्रै लामो समय संगठन गरिरहेका नेताहरूलार्इ पाखा लगाएर केन्द्रीय नेताको रूपमा ठाउँ खाली गर्न सकिदैन र दोस्रो कुरा रामवीरले केका लागि राजिनामा दिने स्पष्ट हुनुपर्छ ।
हाम्रो काठमाडौँको सहसचिव हो उहाँ तर हामीले उहाँले मिडियामा बताएपछि मात्र जानकारी पायौँ त्यसकारण यस्ता विषयमा पार्टीलार्इ पनि जानकारी हुनुपर्थ्यो । अर्को कुरा अहिले काठमाडौँमा नेकपा र सरकारप्रति सकारात्मक धारणा रहेको छैन त्यसकारण यस्तो अवथामा आत्मघाती कदम हामीबाट चालिनु हुँदैन भनेर हामीले पार्टी अध्यक्षलार्इ समेत सामूहिक रूपमा जानकारी गराइसकेका छौँ ।’