प्रदेशसभाको बैठक प्रतिपक्षद्वारा बहिष्कार
१७ असोज ।
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको आज बसेको बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले बहिष्कार गरेको छ ।
बैठक प्रारम्भ हुनासाथ आ–आफ्नो स्थानमा उठेर काङ्ग्रेसका सदस्यहरुले विरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बोल्ने समय दिनुभयो ।
प्रतिपक्षी काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले असोज १२ गतेको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनको प्रस्ताव पारित गर्दा संसदीय विधि र प्रक्रिया मिचिएको जिकिरसहित काङ्ग्रेसका सदस्यहरु बैठक कक्षबाट बाहिरिने बताए ।
सरकारका तर्फबाट सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले स्थायी राजधानी तोकिएको ठाउँमा पर्यावरणको समस्या निम्तिने भन्दै राजधानीको विषयलाई मुद्दा बनाएर बैठक बहिष्कार गर्नु उचित नभएको बताए ।
आजको बैठकको विशेष समयमा बोल्ने सत्तापक्षका सदस्यले स्थायी राजधानीको विषयमा प्रदेशसभाले पारित गरेको निर्णयमा प्रतिपक्षीले देखिएको व्यवहार लोकतन्त्र विपरीत भएको र पत्रपत्रिकामा आएका समाचार भ्रमपूर्ण भएको भनी विरोध गरेका थिए ।
बैठकमा सभामुख थापाले प्रदेशसभाका विभिन्न समितिका सभापतिको निर्वाचन यही असोज २२ गते हुने कार्यतालिका रहेको जानकारी दिए । प्रदेशसभामा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चार वटा समिति रहेका छन् ।
यसअघि गत जेठ १३, २१ र ३१ गते तीन पटक समितिका सभापतिको निर्वाचनको मिति तोकिएकामा दलको आग्रहमा त्यति बेला निर्वाचनको कार्यक्रम स्थगित गरिएको थियो । आजको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी काङ्ग्रेसले बहिष्कार गरे पनि अर्को प्रतिपक्षी दल राजपाले प्रदेशसभा बैठक धेरै दिन अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठकमा सहभागिता जनाएको थियो ।
प्रदेशसभाको अर्को बैठक असोज १८ गते बिहीबार दिउँसो २ बजे बस्नेछ
प्रतिक्रिया दिनुहोस्: