प्रधानमन्त्री बालेन अमेरिका जाँदा तोडिनेछन् विगतका परम्परा, भीआईपी कक्षमा नबस्ने, सलामी नलिने
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनको विदेश प्रस्थानको क्रममा केही नयाँ र रोचक लाग्ने दृष्य देख्न पाइने छ ।
अर्थात उनले नेपाली सेनाको सलामी लिने छैनन् भने मन्त्रीसहितका सरकारी पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरू लाइन लागेर बिदाइ गरेको दृष्य पनि देखिने छैन ।
प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा विगतमा जस्तो सरकारी पदाधिकारी तथा कर्मचारीहरू विमानस्थलमा ताँती लागेर बिदाइ तथा स्वागत गर्ने परम्परा अब तोडिने छ ।’
न्युयोर्क प्रस्थान गर्ने दिन पनि प्रधानमन्त्री बालेन बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काममा व्यस्त छन् । उनी आज साँझ करिब सवा ६ बजे बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ प्रस्थान गर्नेछन् । प्रधानमन्त्री बालेन विमानस्थल पुग्नुअघि नै उनका टोलीका सदस्यहरू विमानस्थल प्रवेश गरिसकेका हुनेछन् ।
प्रधानमन्त्री बालेनले भीआईपीहरू आउजाउ गर्ने बाटो प्रयोग गर्नेछन् ।
‘भीआईपी कक्षको बाटो हुँदै प्रधानमन्त्रीज्यू सरासर हवाईजहाजमा चढ्न जानुहुनेछ, भीआईपी कक्षमा समय बिताउनुहुन्न,’ स्रोतले भन्यो, ‘उहाँ चढे लगत्तै जहाज काठमाडौंबाट उड्ने छ ।’
प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन करिब सात बजे काठमाडौंबाट अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे अवगत गराउँदै जलवायु न्यायबारे कुरा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्: