काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नेतृत्व चयन प्रक्रिया आजैबाट सुरु हुने भएको छ । कांग्रेस महाधिवेशनको बन्दसत्रलगत्तै नेता चयन प्रक्रिया सुरु गर्न लागिएको हो ।
बन्दसत्र बिहान १० बजेबाट सुरु हुने बताइएको छ । बन्दसत्र सकिएपछि निर्वाचनको कार्यक्रम सुरु हुने आयोजकले बताएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएअनुसार बन्दसत्रपछि बेलुका ५ बजे मतदाता नामावाली प्रकाशन गर्ने तयारी छ । सार्वजनिक गरिएको मतदाता नामावालीमाथि दाबीविरोध गर्ने समय डेढ घण्टा अर्थात् साढे ६ बजेसम्म तोकिएको छ ।
त्यसको आधा घण्टा अर्थात् ७ बजेसम्म दाबीविरोधमाथि जाँच गरिनेछ । र, साढे ७ मा मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ ।
मतदाता नामावलीको प्रक्रिया टुंगो लागेपछि उम्मेदवारी दर्ताको काम भने भने भोलिबाट सुरु हुने जनाइएको छ । उम्मेदवारी दर्ता भोलि बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ ।
त्यसरी उम्मेदवारी दर्ता गरेपछि दिउँसो साढे ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ । र, साढे ५ बजे दाबीविरोधको समय निर्धारण गरिएको छ । बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारी फिर्ता लिनका लागि २१ असोजको बिहान ९ बजेसम्मको समय निर्धारण गरिएको छ । उम्मेदवारीको दाबीविरोधपछि १० बजे अन्तिम नामावली प्रकाशन हुनेछ । २२ असोजको बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन समितिका अनुसार मतदान भने राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा गर्न लागिएको छ । त्यसका लागि प्रदेशगत मतदातालाई विभाजन गरिएको छ । बागमती प्रदेशका प्रतिनिधिले सभागृहमा मतदान गर्नेछन् भने कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका मतदाताले खुलामञ्चमा मतदान गर्नेछन् । साथै, भातृ एवं शुभेच्छुक संस्था र जनसम्पर्क समितिका मतदाताले पनि खुलामञ्चमै मतदान गर्ने जनाइएको छ । प्रज्ञा भवनमा भने गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहले मतदान गर्ने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…