एमाले बैठक : ओलीको प्रतिवेदनमा समर्थन व्यवहारको आलोचना
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको सुरुवातमै एमाले र जनताको सम्बन्ध टुटेको भन्दै उपाध्यक्ष विष्णु पौडेलले घुमाउरो तरिकाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
आजको बैठकमा सुरुमा विष्णु पौडेलले बोलेका छन् । पौडेलले ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा एमाले जनतासँग टाढिएको कुरा अध्यक्ष ओलीको प्रतिवेदनले छर्लङ्ग पारेको बताए ।
पौडेलले पार्टीको जनतासँगको सम्बन्ध बिग्रिएको छ अब पुनस्र्थापना गर्नु पर्ने बताएका छन् ।
उनले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यदलको प्रतिवेदन कार्यदलबाट सर्वसम्मत रूपमा पारित गरेर अध्यक्ष कमरेडलाई हस्तान्तरण गरेको बताए । पौडेलले कार्यदलको विषय कुनै लुकेको कुरा छैन, जनतासँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्न बलियो संगठन निर्माण गर्नु पर्छ भन्ने विषयलाई पार्टीले अगाडि सारेको बताए ।
महासचिव शंकर पोखरेलले पार्टीलाई राम्रो बनाउने प्रयास गर्दा अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढेको बताएका छन् ।
बैठकमा पोखरेलले भने , कार्यदलले संकलन गरेका सुझावको आधारमा प्रतिवेदन तयार भयो तर पुनर्गठन शब्दले अध्यक्ष र मेरो दूरी बढ्यो ।
उनले अध्यक्ष ओलीको नेतृत्वमा राम्रो काम भएको तथा त्यो पार्टीको पुँजी भएको भए पनि त्यसलाई जनताले नपत्याएको पनि बताए । ओलीको नेतृत्वमा धेरै महत्वूर्ण कामहरू भए त्यसलाई हामीले पटक–पटक चर्चा गर्र्यौ तर पछिल्लो समयमा जनताले त्यो कुरा सुन्न नै नचाहेको पोखरेलले बताए ।
पहिलो दिनबाट नै ओलीले आफैले बैठक संचालन गरेका थिए । त्यसको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र कर्ण थापाले विरोध गरेका थिए ।
बैठकमा ओलीले आफै श्रद्धाञ्जलि दिने, आफै कार्यक्रम सञ्चालन गर्ने र आफै एजेन्डा प्रस्तुत गरेको भन्दै श्रेष्ठले उठेर नै विरोध गरेका थिए ।
श्रेष्ठले ओलीको उक्त कार्यले आफ्नो धैर्यको बाँध टुट्यो र प्रतिवाद गरेको बताएका छन् ।
बैठकमा ओलीको विरोध गर्दा स्वयंसेवकहरूले रोकेका थिए । श्रेष्ठले अध्यक्ष ओ अलिकति पनि दया, मायाको भावना नरहेको, आफू उभिँदा पनि बस्नुस् नभन्नु उहाँमा मानवता रहेन छ ।
सामान्यतया बैठक महासचिवले संचालन गर्ने र अध्यक्षले अध्यक्षता गराउने विधि हुन्छ । एमालेले पनि अहिलेसम्म यस्तै गर्दै आएको थियो ।
पछिल्लो समयमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले ओलीले पद छोड्नु पर्ने र पार्टी पुर्नगठन गर्नु पर्ने माग गर्दै आएका छन् । जसको लागि एमालेले कार्यदल गठन गर्यो । कार्यदलले ओलीले पद छोड्नु पर्ने र पार्टी पुर्नगठन गर्नु पर्ने प्रतिवेदन तयार गर्यो त्यसपछि ओली महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरुसँग रुष्ट भएका थिए ।
कार्यदल र कार्यदलबाहिरबाट गरेर तीन प्रतिवेदन तयार भए । अन्तिमा कार्यदलमा तत्काल ओलीले पद छोड्नु नपर्ने गरी सहमति भयो । तर सहमति भएको एक दिन पछि नै ओलीले केन्द्रीय कमिटीको बैठक आफैले संचालन गरे ।
केन्द्रीय सदस्य ठाकुर गैरेले सामान्यतया यसअघि केन्द्रीय कमिटी बैठकको सञ्चालन महासचिवले गर्दै आएकोमा यसपटक अध्यक्ष आफैँले गरेको भन्दै विगतको प्रचलन भुलेको बताए ।
गैरेले पनि अध्यक्ष आफैँले बैठक सञ्चालन गर्नुपर्ने बाध्यता के आइलाग्यो ? भन्दै प्रश्न गरेका छन् ।
ओलीले जारी बैठकमा पदाधिकारीलाई १५ मिनेट र केन्द्रीय सदस्यलाई ३ मिनेट बोल्ने समय तोकेका छन् ।
केन्द्रीय सदस्य कर्ण थापाले आफ्नो प्रतिवेदन पेश गर्न बैठकको सुरूबाटै समय माग्दै आफ्नो आसनबाट उठे पनि ओलीले उनलाई समय दिएनन् ।

प्रतिक्रिया दिनुहोस्: