Swornakshar Logo

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छनःगौतम

१७ असोज ।

दमौली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र नेकपाको चुनावी घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताए ।

आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने बताए।
उनले भने ‘सरकार गठन भएको सात महीना मात्रै भएको छ, पुराना अवशेष हटाउन बाँकी नै छ, नयाँ किसिमले जानको निमित्त केही समय चाहिन्छ, पैसा जुटाउनुप¥यो, यी सबै काम गर्दै जान केही समय लागेको हो ।’

चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्र अनुसार नै सरकारले काम गर्ने भन्दै उनले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने बताए । ‘पाँच वर्षभित्र परिणाम खोज्नुपर्छ,’उनले भने ‘हाम्रो घोषणालाई अहिल्यै कसैले खोज्न थाल्यो भने असम्भव छ, त्यो कुरा बुझ्न नचाहनेले अलि बढी प्रचार गरेका छन् ।’

जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उनले प्रतिपक्षीमा रहेका दलले बढाई चढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको बताए । उनले थपे ‘यो प्रतिपक्षीको अधिकारको कुरा हो, यसमा हाम्रो भन्नु केही छैन ।’
सरकारको कामप्रति जनताको गुनासो रहेको र स्थानीय तहमा पनि धेरै कर लगाए भन्ने गुनासो जनताले गरेको भन्दै उनले यी सबै कुरा विस्तारै हट्दै जाने समेत बताए । पार्टीभित्रको असन्तुष्टिका विषयमा बोल्दै उनले यो घर भित्रको सामान्य कुरा मात्रै भएको बताए ।

केही दिनअघि सरकारको विरोध गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधव नेपालले दिनुभएको सम्बोधनप्रति गौतमले भने, “आफू अनुपस्थित भएको बेलामा सचिवालयले ठूला–ठूला निर्णय ग¥यो भन्ने मात्रै गुनासो माधव नेपालले गर्नुभएको हो ।”

पार्टी विधान अनुसार अध्यक्ष र महासचिव अनुपस्थित भए मात्रै निर्णय हुन नसक्ने तर अरूको अनुपस्थितिले निर्णय प्रक्रियामा कुनै असर नगर्ने गौतमको भनाइ थियो । उनले भने, “म नभएको बेलामा पनि धेरै निर्णय भएका छन् । यो त सामान्य विषय मात्रै हो ।”

गौतमले जिल्लास्तरमा पार्टी एकीकरणको प्रक्रिया शुरु भइसकेको भन्दै दुई÷तीन महीनाभित्रै काम सकिने दाबी गरे । दश दिनअघि सचिवालयले एकीकरणका सन्दर्भमा निर्णय गरिसकेको र विभिन्न ठाउँमा बैठक बसेर एकीकरण टुङ्ग्याउने काम भइरहेको बताए उनले ।

गौतमले अहिले दैनिकजसो बलात्कारका घटना घटिरहेको प्रति चिन्ता व्यक्त गर्दै अपराधीमाथि अलि कडा कारवाही प्रारम्भ गर्न नपाउँदा पनि केही समस्या सिर्जना भएको समेत बताए ।