Swornakshar Logo

सभापतिसहित सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गर्न सुझाव

असोज १३ ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सभापतिसहित पदाधिकारीको निर्वाचन देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुनुपर्ने सुझाव आएको छ । साथै, केन्द्रीय कार्यसमितिको संख्या १ सय ५१ भन्दा नबढ्ने गरी विधानमा व्यवस्था गर्न पनि सुझाव आएको छ । पार्टीको सबै तहमा समावेशी कोटाको सम्पूर्ण सदस्यभन्दा कम नहुने गरी खुला कोटाको व्यवस्था गर्नुपर्ने पनि सुझाव आएको छ ।

यस अघि कांग्रेस विधानमा पदेन सदस्यबाहेक बढीमा ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो । संशोधनका लागि छलफल भइरहेको मस्यौदामा १० पदाधिकारीसहित १ सय ३, १ सय २३ र १ सय ३३ सदस्यको केन्द्रीय कार्यसमिति रहने भनी तीन विकल्पसहित प्रस्तुत गरिएको छ ।
पहिलो प्रस्तावमा सभापति निर्वाचित तथा ३ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष मनोनित हुने व्यवस्था गरिएको छ । यसको विकल्पमा सभापति, २ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री र १ कोषाध्यक्ष निर्वाचित हुने र १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनित गर्ने प्रस्ताव ल्याइएको छ । पहिलेको विधानमा सभापति, १ महामन्त्री र कोषाध्यक्ष निर्वाचित गर्ने थियो भने १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनित गर्ने व्यवस्था थियो ।

संशोधित विधानमा पार्टीको तल्लो तहदेखि नै विद्यमान समावेशी क्लस्टरलाई विस्तार गरी किसान, श्रमिक, पेसाकर्मी, अपाङ्गता भएका व्यक्ति, शहीद तथा विस्थापित परिवार र १८ वर्षदेखि ३० वर्ष उमेर समूहलाई अनिवार्य समेट्न पनि सुझाव आएको छ । सुझाव संकलनका क्रममा केन्द्र मात्र होइन तल्लो तहसम्मका सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव आइरहेको छ ।