ताजा अपडेट
समाचार

खाता रोक्काको चेतावनीपछि वैदेशिक रोजगार ठगीका ४७ आरोपित सम्पर्कमा, १ हजार १७१ जना फरार

खाता रोक्काको चेतावनीपछि वैदेशिक रोजगार ठगीका ४७ आरोपित सम्पर्कमा, १ हजार १७१ जना फरार

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई श्रमिक ठगी गर्ने विरुद्ध वैदेशिक रोजगार विभागले कडा कदम चालेपछि ४७ जना आरोपित विभागको सम्पर्कमा आएका छन् ।

ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी थालिएसँगै विभागको सम्पर्कमा पुगेका उनीहरुले पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेका हुन् ।

वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुलाई ३५ दिनभित्र उपस्थित हुन गत कात्तिक १९ गते पत्राचार गरेको थियो ।

उक्त पत्रमार्फत तोकिएको अवधिभित्र विभागमा हाजिर नभए ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गरिने स्पष्ट चेतावनी दिइएको थियो ।

विभागको तथ्याङ्कअनुसार वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जसमध्ये बैंक खाता रोक्का हुने डरले ४७ जना सम्पर्कमा आए पनि १ हजार १७१ जना आरोपित अझै फरार सूचीमा रहेका छन् ।

तोकिएको ३५ दिनको समयसीमा भित्र उपस्थित नहुने आरोपितहरुको हकमा म्याद गुज्रिए लगत्तै बैंक खाता रोक्काका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गर्ने प्रक्रिया अघि बढाउन विभागले सम्बन्धित शाखालाई निर्देशन दिइसकेको छ ।

वर्षौँदेखि पक्राउ पुर्जी जारी भएर पनि अटेर गर्दै आएका ठगीका आरोपितहरूलाई कानुनी दायरामा ल्याउन विभागले वित्तीय कारोबार रोक्का गर्ने नीति अघि सारेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…