ताजा अपडेट
राजनीति

‘प्रधानमन्त्री टीम’ बाट गरिएको सुनकोशी–मरिणको ठेक्का रद्दमा छानबिन गर्न कांग्रेसको माग

‘प्रधानमन्त्री टीम’ बाट गरिएको सुनकोशी–मरिणको ठेक्का रद्दमा छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनकोशी(मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने सरकारको निर्णयमाथि छानबिन गर्न माग गरेका छन् ।
कर्मचारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको, प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरेको दाबीसहित उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । यो विषयमा संसद् र संसदीय समितिमा छलफल हुनुपर्ने आङदेम्बेको भनाइ छ।

उनले भनेका छन्, ‘सोहीअनुसार मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक बस्यो। बैठकमा सत्तापक्ष र प्रतिपक्षका माननीय सांसदहरूले सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लङ्घन र राज्य शक्तिको दुरुपयोगबारे प्रश्न उठाउनुभयो। समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।’

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिण डाइभर्सनले मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउनुका साथै २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गरेका छन्।

आयोजनाको १३.३ किलोमिटर सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा सरकारी हस्तक्षेपले आयोजना प्रभावित हुनु चिन्ताजनक रहेको बताए।

उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातना गृह ?’

कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दिएको हो, ठेक्का रद्द गर्नुको कानुनी आधार के हो र यसबाट राज्यलाई हुने आर्थिक क्षतिको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ ।

ठेक्का रद्द गर्ने अधिकार सरकारसँग भए पनि कानुनविपरीत निर्णय गर्ने अधिकार नभएको भन्दै प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।

उनले थपे, ‘मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक बनाउन पाइँदैन। जनताको भविष्यसँग खेलबाड गरेर सरकार जवाफदेहिताबाट भाग्न सक्दैन ।’

सुनकोशी(मरिण डाइभर्सन आयोजना कुनै राजनीतिक विषय नभई मधेसका लाखौँ नागरिकको सिँचाइ, ऊर्जा र समग्र विकाससँग जोडिएको राष्ट्रिय महत्वको आयोजना भएकाले सरकारले यस विषयमा जवाफदेही बन्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…