काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘डिजिटल नेपाल फ्रेमवर्क’ आफूहरूले नै सुरु गरेको र विदेशी व्यावसायिक कम्पनीलाई कानुन तथा नियमनको थितिभित्र ल्याउन वर्षौँदेखि प्रयास गरिरहेको बताएका छन्।
विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले डिजिटल नेपाल फ्रेमवर्क समयको माग चिनेर ल्याइएको योजना भएको उल्लेख गर्दै त्यसको दोस्रो संस्करण ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ समेत आफ्नै नेतृत्वमा विकास र अद्यावधिक गरिएको बताएका हुन् ।
बलियो देशमा थिति मान्नुपर्ने तर नेपाल कमजोर भएकै कारण थिति मान्नु नपर्ने हुन नसक्ने उनको भनाइ छ। संविधान, कानुन र देशलाई नै अपमान गर्दै दर्ता र नियमनभित्र नबस्ने भनेर लिखित चुनौती दिएपछि नियमनको प्रयास अघि बढाइएको उनले स्पष्ट पारे।
ओलीले भने, ‘यहाँ अगाडिदेखि नै एउटा योजना थियो। बङ्गलादेश र श्रीलङ्का यत्तिकै भएका होइनन्। नेपाललाई पनि श्रीलङ्का र बङ्गलादेश बनाइदिन्छु भन्ने तयारी यहाँ पहिलेदेखि नै थियो, नदेखिएको होइन।’
उनले थपे, ‘अष्टमीका दिन बाँधेर राखेको बोकालाई पर्छिनछन्, उसले खुकुरी पनि देखेको हुन्छ, मार हान्न लागेको पनि बुझेको हुन्छ, तर त्यसले गर्छ के त ? थाहा पाएपछि पनि के गर्नेरु राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्ने ?’
आफ्नो सङ्घर्ष र विगतको अनुभव स्मरण गर्दै ओलीले भने, ‘यो म एक्लो वा नेकपा एमालेका दुई–चार लाख सदस्यको मात्र कुरा होइन। यो देशको, तीन करोड जनताको, तिनका सन्ततिको र भविष्यको कुरा हो। मैले आफ्ना लागि केही गर्नुपर्ने छैन, म त मर्न तयार भएर हिँडेको मान्छे हुँ।’
उनले आफू बिनाआधार झुटा आरोपमा १० वर्ष र त्यसपछि थप चार वर्ष बिना कुनै आरोप जेलमा परेको प्रसङ्ग कोट्याउँदै विगतमा सर्वोच्च अदालतको आदेशपछि पनि प्रहरीले पक्राउ गरेको घटना उल्लेख गरे। शासक र शक्तिशाली पक्षले न्यायालयको सम्मान नगरेसम्म राज्यका अङ्गहरूले कर्तव्य पूरा गर्न नसक्ने र लोकतान्त्रिक राज्यमा सबैले कानुन तथा अदालतको सम्मान गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘म बिनाआधार, झुटा आरोपमा १० वर्ष थुनिएँ र त्यसपछि थप ४ वर्ष बिना कुनै आरोप निरन्तर जेलमा राखिएँ। सजाय सकिएपछि पनि मलाई थुनियो। त्यतिबेला सर्वोच्च अदालतले मलाई ुतुरुन्त छोड्नुु भनेर आदेश दियो। तर न्यायाधीश आफ्नो इजलासबाट उठ्न नपाउँदै प्रहरी इन्स्पेक्टरले कठघरामा उभिएकै बेला मेरो हातमा हतकडी लगायो र मलाई फेरि पक्राउ गर्यो। न्यायाधीश उठेर भित्र जानुभयो। पञ्चायत कालमा नेपालको न्यायालयको अवस्था त्यस्तो थियो। अहिले पनि परिस्थिति फरक होला, तर नतिजा उस्तै–उस्तै देख्छु। अब फेरि ‘अदालतको मानहानि गर्यो’ भन्लान्। यो मानहानि गरेको होइन, अदालतको मान–सम्मान बढोस् भन्ने चाहना हो। सबैले सम्मान गर्दा पो सम्मान हुन्छ । पीडितले सम्मान गर्दैमा मात्रै अदालतको सम्मान हुन्छ र ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…