काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरू एकताबद्ध हुनुको विकल्प नभएको बताएका छन्।
नेकपा काठमाडौं जिल्ला समितिको एकता बैठकलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलन र वामपन्थी आन्दोलनलाई रक्षा गर्ने जिम्मेवारी आफूहरूको भएको बताए।
उनले भने, ‘भदौ २४ गतेको विध्वंसपछि घनीभूत छलफल गरेर कार्तिक १९ गते १० ओटा विभिन्न वामपन्थी घटकहरूको आयोजनामा राष्ट्रिय सम्मेलन गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गर्ने कामको सुरुवात गर्यौँ। अगाडि बढ्दै जाँदा त्यो अहिले धेरै भएको छ। अहिलेसम्म २६–२७ हुँदै गएको छ’
कम्युनिस्ट एकताको सुरुवात फेरि गरेको बताए। उनले विगतमा एमालेसँग पार्टी एकता भएको स्मरण गरे।
‘कम्युनिस्टबीच एकता हुँदा केन्द्रदेखि तलसम्म उत्साह र उभारको स्थिति देखा पर्यो। हामीले त्यसबेला कार्यगत एकता पार्टी एकताको उद्देश्यद्वारा गरिएको थियो, त्यसको पक्षमा झन्डै दुई तिहाइ जनमत देखा पर्यो हामी विजयी भयौँ’ उनले भने।
उनले विगतको त्रुटि सच्याउँदै फेरि एकताबद्ध हुनुपर्नेमा जोड दिए।
उनले थपे, ‘अब समय फेरि आएको छ। अहिले प्रतिक्रान्तिले टाउको उठाउँदै छ, राष्ट्र एउटा गहिरो सङ्कटतिर धकेलिँदै छ, कम्युनिस्ट आन्दोलनलाई रक्षात्मक बनाउँदै धराशायी बनाउने षड्यन्त्र साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले गरिराखेका छन्।’
उनले एमालेलाई हिजोको असफलताबाट पाठ सिकेर फेरि एकचोटि एकताको झन्डा उठाउनैपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…