Bagmati Samachar Logo

‘ नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय जेनजी प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गर्दै ‘जेन–जी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेकी छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री डा. शर्माले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, ‘जेन–जी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको थियो । त्यसैले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् ।’ मन्त्री डा शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताइन् ।

उनले जेन–जी प्रर्दशनमा शहीद भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढाइने बताइन् । मन्त्री डा शर्माले वर्तमान सरकार नागरिक सरकार भएकाले यसको मूल्याङ्कन कामबाट मात्र हुने धारणा राखिन् ।

उनले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताइन् । स्वास्थ्य सचिवको रूपमा काम गरिसकेकी नवनियक्त स्वास्थ्यमन्त्री डा शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञका साथै जनस्वास्थ्यविद् पनि हुन् ।