Bagmati Samachar Logo

ओली सरकारको नालायकीपनले अराजकता बढि रहेकाे छ : विजय गौतम

हेटौंडा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले वर्तमान सरकारको नालायकीपनले गर्दा अराजकता बढेकाे  बताएका छन्।

कुलमान घिसिंगजस्ता राष्ट्रसेवकको मानमर्दन गर्ने, आफ्नाहरुलाई बिभिन्न मुद्धाबाट उन्मुक्ति दिने जस्ता कामहरुतर्फ इंकित गर्दै नेता गौतमले सरकारले जनताप्रति जवाफदेही भएर काम गर्न नसक्दा ईतिहासमा खाेज्नु पर्ने तत्वहरू सलवलाउन थालेका बताए ।

मकवानपुरकाे बकैया ७, भिरकोटमा आयोजित नेकपा (माओवादी केन्द्र) बकैया ७ को तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै राजावादीहरुको पछिल्लो गतिविधीलाई उल्लेख गर्दै नेता गौतमले भने, “ बिशेषतः कॅाग्रेस एमालेको सरकारले राम्रो नराम्रो हेरेर भन्दा पनि आफुले जे गरेपनि हुन्छ भन्ने गलत भावनाले काम गर्दा जनतामा वितृष्णाको बढेको छ। यसको फाईदा कथित राजावादीहरुले लिन खोजे पनि यो उनीहरुको दिवास्वप्नमा सीमित हुन्छ तर दलहरुले यस प्रकारको घटना, प्रवृत्तिलाई नजर अन्दाज नगरी सच्चिएर अगाडी बढ्ने अवसरको रुपमा ग्रहण गर्नुपर्दछ।”

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) बागमति प्रदेशका उपाध्यक्ष एवं बागमति प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले २५० बर्ष शासन चलाउॅदा नबचाएको र नबनाएको देश फेरी ‘आऊ र बचाऊ’ भन्नु केवल हॅास्यास्सपद केटाकेटी कुरा भएको जिकिर गरे। नेता पुलामीले लोकतन्त्रले नै यो देश बच्ने र बन्ने ठोकुवा गरे।

सम्मेलनको समारोहमा नेकपा (एमाले) गॅाउकमिटी सदस्य किशोर थापा सहित रत्नबहादुर स्यांगतान, प्रेमबहादुर मुक्तान, ईन्दिरा बिक, सुनिता बिक लगायत एक दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। एमाले परित्याग गर्दै स्थानिय नेता थापाले माओवादी केन्द्र सुशासनको पार्टीको रुपमा अगाडी बढेकोले आफुहरु आकर्षित भएको बताए।

सम्मेलनले मान बहादुर सिंग्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ। सम्मेलनलाई नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सदस्य जीवन गोले, जिल्ला सदस्यहरु लोकनाथ गौतम, नवराज चौलागाई, भक्त बहादुर खत्री, गॅाउपार्टीका अध्यक्ष बिमल नेपाल, गॅाउकमिटी सदस्यहरु मदन लामा, राजेन्द्र घिमिरे, भोजराज लामिछाने लगायतले सम्बोधन गरेका थिए।