Bagmati Samachar Logo

तीन कम्युनिष्ट पार्टीको केपी ओलीलाई प्रश्नः यसै गरी रामनाथ दाहालको सपना पूरा हुन्छ ?

झापा ।  समाजवादी मोर्चामा आवद्ध तीन कम्युनिष्ट घटकले झापाको सुखानीमा पञ्चायतविरोधी आन्दोलनका क्रममा मारिएका चार शहीदको शालिक तोडफोड गरेकामा आपत्ति जनाएको छ ।
सुखानी स्मृति दिवसका अवसरमा बुधबार एक वज्ञप्ति जारी गर्दै उनीहरुले शहीदहरुको बलिदान, जनताको आकांक्षा र समाजवाद प्राप्त गर्ने लक्ष्यमा विभिन्न गोलचक्कर, विभाजन, स्वार्थ केन्द्रहरुको योजना र विभिन्न आवरणका दलालीको प्रभावमा परेको बताएका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी   शर्मा ओलीलाइ लर्क्षित गर्दै ‘सामन्तलाई नगिँडे, सैनिकसँग नभिडे आउँदैन साम्यवाद भाषण ठोकेर’ भन्ने शहीदहरुसँगै अभियानमा हिंडेकाहरु अहिले कम्युनिष्ट आन्दोलनका नाममा कम्युनिष्ट आन्दोलनलाई नै भ्रमित पार्न उद्धत रहेको आरोप उनीहरुले लगाएका छन् ।

विज्ञप्तिमा कम्युनिष्ट आन्दोलनका नाममा कम्युनिष्ट आन्दोलनलाई नै भ्रमित पार्ने पश्चगामी कदमहरु, नयाँ अनुहारको नाममा नयाँ खोजिरहेको समाजलाई पुरानै मान्यता दिएर भ्रमित गर्ने प्रवृत्ति र जनताले अस्वीकृत गरिसकेको साथै इतिहास बनिसकेको राजतन्त्रलाई फर्काउन खोज्ने प्रवृत्ति नेपाली समाजलाई उल्टो बाटो हिंडाउने र देशलाई दुर्घटनामा लैजाने प्रवृत्ति भएको ठहर उनीहरुले गरेका छन् । ‘यी प्रवृत्तिहरु राम्रोसँग पहिचान गर्नु, जनतालाई बुझाउनु र समाजलाई सुल्टो बाटो हिंडाउनुनै अहिलेको मुख्य कार्यभार हो र सुल्टो बाटो भनेको समाजवाद नै हो’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले सुखानीमा उभिएर शहीदहरुलाई सम्झिँदै आफूहरु नेपाली समाजको अग्रगमनको यात्रालाई समाजवादसम्म पु¥याउन जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । जनताका महान आन्दोलन र बलिदानहरुलाई दुत्कार्ने, शहीदहरुको शालिक ढाल्ने, जस्ता कुरा गर्ने समाजमा अफवाह फैलाउने, जनविरोधी तत्वहरुलाई जनताको निरन्तर अगाडि बढ्ने चाहनाको विरुद्ध आउने जस्तोसुकै षड्यन्त्र र भ्रमहरु ध्वस्त बनाइने चेतावनी उनीहरुको छ ।

विज्ञप्तिमा माओवादी केन्द्रका झापा इन्चार्ज रञ्जित तामाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका इन्चार्ज सुमन सिंहले हस्ताक्षर गरेका छन् ।
२०२९ फागुन २१ गते आजैका दिन कम्युनिस्ट आन्दोलनका चार योद्धाहरु नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी (हाल माई नगरपालिका) स्थित सुखानी जंगलमा गोली हानी हत्या गरिएको थियो ।

उक्त दिनको स्मरणमा कम्युनिष्ट घटकहरुले सुखानी दिवस मनाउने गरेका छन् ।