Bagmati Samachar Logo

सुदूरपश्चिका सांसदलाई पार्टीको निर्णय कार्यन्वयन गर्न प्रचण्डको निर्देशन

काठमाडौ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई पार्टीको निर्णय कार्यन्वयन गर्न निर्देशन दिएका छन् ।

आज खुमलटारमा भएको बैठकमा सांसदहरुलाई पार्टीको निर्णय कार्यन्वयन गर्न निर्देशन दिएको एक सहभागी सांसदले बताए । ती सांसदले भने,‘अध्यक्ष कमरेडले विश्वासको वातवरण म बनाउछु । तपाईहरु निर्णय कार्यन्वयन गरेर जानुहोस् भन्नु भयो । अध्यक्षको जोड सहमतिमा छ । सहमति गरेर छिटै समस्या समाधान हुन्छ होला ।’

बुधबार तराई–मधेश जागरण अभियान अन्तर्गत विराटनगरका रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौं आएका हुन् ।
बैठकमा दलका नेता मानबहादुर धामीले आफू पनि सहमतिको लागि तयार रहेको प्रचण्डलाई बताएको सांसद अक्कल बहादुर रावले बताए । उनले भने,‘छलफल सकारात्मक भएको छ । अध्यक्ष कमरेडले बहुमतबाट होइन सहमतिबाट समस्या समाधान गरौँ भन्नु भयो । अब सहमतिबाट समस्या समाधान हुन्छ होला ।’

गत वर्ष १२ माघबाट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद छ । गत वर्ष माघमा बहुमत सासंदहरूले संसदीय दलका नेताबाट खगराज भट्टलाई हटाएर मानवहादुर धामीलाई बनाएका थिए ।

पार्टीले केन्द्रले दुई पटक निर्णय गरेर लागु गर्न निर्देशन दिएपनि सुदूरपश्चिम प्रदेश सभाले कायन्वयन गरेको छैन ।

भदौमा प्रदेशको परामर्श बैठकका लागि अध्यक्ष प्रचण्डलगायत पदाधिकारीहरू सुदूरपश्चिम पुगेका बेला पनि भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएका थिए । बैठकमा पार्टी अध्यक्षको निर्देशन कार्यान्वयन नभएको भन्दै नेताहरूले कुरा उठाएपछि प्रचण्डले फेरि निर्देशन दिएका थिए । दुईपटक लिखित र एकपटक मौखिक निर्देशन दिएका प्रचण्डले बैठकमा फेरि मौखिक निर्देशन दिए । तर, संसदीय दलका नेता मानबहादुर धामीले भने केन्द्रको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने अडान राखेपछि निर्देशन कार्यन्वयन भएन ।

२०८० साल असार पहिलो साता प्रचण्डले सांसदहरूसँग छलफल गरेर भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनस्र्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिए । त्यो निर्देशन न त पार्टी समितिले लागू गर्न सक्यो, न त संसदीय दलले टे¥यो । प्रचण्डको पहिलो निर्देशन यत्तिकै सकियो ।

दोस्रोपटक प्रचण्डले फेरि सबै नेताहरूलाई बालुवाटार बोलाएर दलको नेता खगराजलाई बनाउन निर्देशन दिए । त्यो पनि लागू भएन ।
विवाद मिलाउन खगराजलाई दलको नेता भन्दा माथिल्लो वरीयतामा राख्ने निर्णय भयो । तर बैठकमा भट्ट सहभागी भएनन् ।

आजको खुमलटारमा भएको छलफलमा प्रदेश सांसदहरुले आआफ्ना कुरा राखेका सांसद अक्कल बहादुर रावलले बताए । उनले भने,‘पहिला हामीहरुले आआफ्ना कुरा राख्यौँ । हाम्रो कुरा सुनिसकेपछि अध्यक्ष प्रचण्डले तपाईहरुका समस्या समाधान गरेर जान्छौँ । अहिले सहमतिमा दलको नेतामा खगराज जीलाई ल्याउ भन्नु भयो । हामी पाँच जना अहिलेपनि कन्भिन्स हुन सकेका छैनौँ । मिलेमा सहमति नमिले फेरि पक्रियामा जान सक्छ ।’

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११ जना सासंद छन् । एक जना सभामुख भएकाले १० जना सांसद छलफलको लागि काठमाडौं आएका छन् ।

बहुमतबाट हटाएपनि अहिले भने दुबै पक्षमा पाँच पाँच जना सांसद छन् । दल नेता मानबहादुर धामी पक्षमा ओमविक्रम भाट, अक्कल रावल, लक्ष्मी विक र गितादेवी माल रहेका छन् ।

भट्ट समुहमा रमेशसिंह धामी, शिवसिंह वली, जानकीदेवी कुँवर र झपटबहादुर साउँद रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा माओवादीका तीन समूह छन् । जनार्दन शर्मा, वर्षमान पुन र नारायणकाजी श्रेष्ठ समूह छन् । खगराज भट्ट शर्मा समूहका हुन् । मानबहादुर धामी, अक्कल बहादुर रावल, ओमविक्रम भाट पुन समूहका हुन् । शिवसिंह वली श्रेष्ठ समूहमा छन् । भाट र धामी एक समूह चलाउँछन् । पछिल्लो समयमा सुदूरपश्चिममा श्रेष्ठ र शर्मा समूह एक ठाउँमा छन् । पुन समूह अर्को पक्षमा छन् ।