नेकपा एस बैठक : आरती बोल्दा माधव नेपालको प्रतिकार, घनश्यामले रोके

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक ललितपुरको प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा जारी छ । बैठकमा केन्द्रीय सदस्यहरु आफ्ना धारणा राखि रहेका छन् । शनिबारको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन चलेको छ ।
आफ्नो बोल्ने पालो आउँदा अन्तर पार्टी निर्देशन (अपानि) का आधारमा आफू अध्यक्ष रहेको अनेरास्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको भन्दै लामाले बैठकमा अध्यक्ष नेपाल प्रति आक्रोश पोखेकि थिइन् । बैठकमा लामाले बोल्दै आफूलाई जानकारी नै नदिएर आफूलाई अध्यक्षबाट हटाएको भन्दै आक्रोस पोखेकी सहभागी एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले लामाको भनाइ भनदै भने,‘‘मेरो प्रश्न छ, श्रद्धेय अध्यक्ष कमरेड, यो कस्तो विधि हो ?’
आरतीले यसो भन्नासाथ ‘तपाईं चूप लाग्नु्’ भन्दै अध्यक्ष नेपाल बसिरहेको ठाउँबाट जुरुक्क उठेर लामा बोलीरको तर्फ लागेका थिए तर उनलाई महासचिव घनश्याम भुसालले रोकेको ती केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले भने, ‘अध्यक्ष उठ्नासाथ आरतीको छेउमै रहेका महासचिव घनश्याम भुसाल नेपालतिर गएर उनलाई थुम्थुम्याउन थाले । तर, माधव आरतीको छेउमै गएर उनको प्रतिकार गर्न तम्सिरहे । नेपालले ‘चूप लाग्नुस्, चूप लाग्नुस्’ भनिरहे । आरतीले दोहोर्याई, तेहेर्याई भनिरहिन्, ‘मैले बोल्न पाउनुपर्छ ।’
भुसालसहित मञ्चमा रहेका अन्य पदाधिकारीले नेपाललाई रोकेपछि भनाभन रोकिएको थियो ।
लामाले पार्टी नेतृत्वको निरंकुशताको शिकार आफू भएको र यो बैठकले उपयुक्त निर्णयसहित आफूलाई न्याय दिनुपर्ने कुरा उठाएकी थिइन् ।
‘हामीले विधिका कुरा गरेका थियौं, त्यसैका लागि विद्रोह गरेका थियौं’, लामाले भनिन्, ‘आज विधि कहाँ गयो ? के यही हो विद्रोहको औचित्य ?’
अध्यक्ष नेपाललाई अन्य पदाधिकारीले थुम्थुम्याउँदा पनि उन फेरि फेरि उठेर प्रतिकार गर्न तम्सिएपछि महासचिव भुसालले लामालाई ईशारा गर्दै मञ्चबाट बाहिरिन आग्रह गरे । लामा चाहिँ ‘मैले बोल्न पाउनैपर्छ’ भन्दै मञ्चबाट बाहिरिइन् ।
अनेरास्ववियूकै विषयलाई लिएर नेकपा एसभत्रि विवाद उत्पन्न भएको छ । अपानिमार्फत लामालाई पदमुक्त गरेपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले गत स्थायी कमिटी बैठकमा लिखित फरक मत राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्: