Bagmati Samachar Logo

राजेन्द्र महतो ताप्लेजुङ पुगेपछि तनाव, झडपमा प्रहरी र आन्दोलनकारी घाइते

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको एक टोली ताप्लेजुङकाृ पाथीभरा पुगेपछि झडप भएको छ । पाथीभरामा केबुलकार निर्माण विषयलाई लिएर विवाद भइरहेको छ । बिहीबार महतो सहितको टोली पाथीभरा पुगेपछि झडप भएको छ । महतो काठमाडौंबाट केबुलकार निर्माणको विरोध गर्न टोलीको नेतृत्व गर्दै ताप्लेजुङ पुगेका थिए ।

झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । महतो, रकम चेमजोङ र डकेन्द्र थेगिमले नेतृत्व गरेको टोलीले केबुलकार निर्माणस्थलमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरेको जनाइएको छ ।

आक्रमणबाट नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन् । मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबुलकार परियोजनाको विरोध गर्दै राष्ट्रिय मुक्ति पार्टीले यस्तो कार्यक्रम गरेको हो । यसअघि आन्दोलनरत पक्ष र सरकारीपक्षबिच वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।