ओली बाध्यताले यो संविधान स्वीकारेको भन्थे, प्रधानमन्त्री हुनासाथ च्यात्न खोज्दैछन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुदासाथ संसद र संविधान विघटन गर्ने गतिविधिमा केन्द्रित हुने गरेको बताएका छन् ।
ओलीको गृहजिल्ला झापाको दमक पुगेका प्रचण्डले ओलीलाई संविधानमा भएको समानुपातिक र समावेशिता मन नपरेको बताए ।
उनले आफूले सुशासन र सामाजिक न्यायका निम्ति चालेको अभियान दलालहरुलाई मन नपरेकै कारणले आफ्नो सरकार ढालि दिएको बताए ।
प्रचण्डले भने, ‘यहीका हाम्रा अहिलेका प्रधानमन्त्री केपी ओलीजी संविधान बनाउने बेलामा संघीयता पनि ठीक छैन, समावेशी समानुपातिक भनेर महिला, दलित, आदिवासीलाई अधिकार दिएको मन परेको छैन । के गर्नु माओवादीले आँधीहुरी ल्यायो, सबैले माने, मैले पनि मान्नैपर्यो भनेका मान्छे हुन् । तपाईंहरुले यो कुरालाई विचार गर्नुहोला । उहाँ पावरमा पुगेपछि संविधान च्यात्न खोज्नुहुन्छ ।’
उनले कांग्रेस र एमाले रातारात असंवैधानिक ढंगले मिलेको भन्दै अब कसैसँग गठबन्धन नगरी आफ्नो वर्गमा फर्किने संकल्प गरेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘केही शक्तिहरु अहिले पनि कही न कही प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौं ।’
आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सामान्तवादविरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको पूर्वले अब समाजवादी क्रान्तिको अगुवाई गर्ने आफ्नो विश्वास रहेको पनि उनले स्पष्ट पारे ।
‘
पूर्व यसै पनि सामन्तवादका विरुद्ध केन्द्रविन्दु रह्यो । विरानटगरको मजदूर आन्दोलन, झापा बिद्रोहहुँदै सामन्तवादका विरुद्धको आन्दोलनमा पूर्वका जनताको राजनीतिक चेतना र संघर्ष ऐतिहासिक छ’– अध्यक्ष प्रचण्डले भने, ‘तर, यहाँका नेताहरुले कता कता पूर्वलाई धोका दिने गरेको यहाँहरुले नै महसुस गरिरहनुभएको छ, जसरी हिजो सामन्तवादका विरुद्ध पूर्वले लडाई लड्यो, अब भ्रष्टाचारविरुद्धको अभियान प्रभावकारी बनाउँदै समाजवादी क्रान्तिको लडाईको नेतृत्व गर्न पनि पूर्व तयार हुनेछ भन्ने विश्वास लिएको छु ।’
अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि बढाएको र दोस्रोपटक प्रधानमन्त्री हुँदा पहिचान पक्षधर शक्तिलाई विश्वासमा लिएर संविधान कार्यान्वयन गर्ने देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गर्ने अभियानको नेतृत्व गर्न पाउँदा गर्व महसुस भएको बताए । तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानसँगै नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत ब्यापार सम्झौता, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता र सिमा समस्या समाधानदेखि चीनसँग आठ वटा परम्परागत नाका खोल्ने र कृषि उत्पादन वृद्धिका लागि समझदारी गर्ने काम अघि बढाएको उनले स्पष्ट गरे ।
संयुक्त राष्ट्रसंघको महासभा, खाद्य सम्मेलन र जलवायु परिवर्तन सम्मेलनमा नेपाल र नेपालीको पक्षमा दृढताका साथ मत राखेको स्मरण गराउँदै उनले देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि यी अभियान मन नपरेर दलाल, भ्रष्ट र बिचौलियाहरुले सरकार ढालेको स्पष्ट पारे । अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्: