ठमेलमा प्रहरी कुट्ने एमाले अखिलका नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीलाई रुद्ध म्याद थपका लागि पेस गरिएकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।
काठमाडौं प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो ।
दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम ९क्यूआरटी० को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । प्रहरीलाई कुटपिट गरेपछि यसअघि गत आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस ९अस्कल० मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अहिलेसम्म फरार छन् ।
प्रतिक्रिया दिनुहोस्: