काठमाडौं । जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको छ।
अदालतमा सोमबार उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
जिल्ला न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदारले यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए।
उनका अनुसार हाल थुनामा पठाउने र पछि ठहरे बमोजिम हुने भनेर आदेश भएको हो।
सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए।
यस्तै, जोशीको तर्फबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेको थिए।
अदालतको आदेश लगत्तै जोशीलाई जिल्ला कारागार रूपन्देहीमा लगिएको जिल्ला कारागार रूपन्देहीका प्रमुख जगत बहादुर बस्नेतले बताए।
बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको भन्दै जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।
जोशी गोर्खा मिडियाका तत्कालिन उपाध्यक्ष एवं सञ्चालन हुन् भने लामिछाने प्रबन्ध निर्देशक थिए।
यसअघि रूपन्देही अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटी लिएर छोडेको थियो।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…